कोरोना संक्रमितलाई पनि मताधिकार

0
Shares

काठमाडौं, (नेस) ।

कोरोना संक्रमित मतदाताले पनि राष्ट्रियसभा चुनावमा भोट हाल्न पाउने भएका छन् । बुधबार निर्वाचन आयोगले १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले पनि भोट हाल्न पाउने गरी व्यवस्था गर्ने निर्णय गरेको हो ।

‘कोरोना संक्रमित भएको भए पनि ऊबाट अर्को व्यक्तिलाई नसर्ने गरी भोट हाल्न पाउने व्यवस्था मिलाउने भन्ने भएको छ’ –आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले भन्नुभयो । उहाँका अनुसार संक्रमित भएकाहरूलाई भोट हाल्न मतदान केन्द्रमा छुट्टै बाकसको व्यवस्था गरिनेछ ।

१९ सदस्यका लागि यही माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदै छ । राष्ट्रिय सभामा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । आयोगले ७ वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र राखेको छ ।

१९ बुँदे मापदण्डमा आयोगले स्वास्थ्य सतर्कताका विषयहरू समावेश गरेको छ । आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा स्वास्थ्यकर्मीको टोली खटिनेछ र मतदान केन्द्रमा प्रवेश गर्ने सबैको ज्वरो जाँच गर्ने व्यवस्था मिलाइनेछ ।