मोक्ष प्राप्तिका लागि नारायणहिटी दरबारभित्रै महायज्ञ

0
Shares

काठमाडौं ।

नारायणहिटी दरबारभित्र यही माघ १९ देखि २९ सम्म महायज्ञ गरिने भएको छ । वर्तमान समयमा नेपाललाई सतीले श्राप दिएकै हो भन्ने ठानेर पापबाट मोक्ष लिनका लागि दरबारभित्रै महायज्ञ गरिने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

श्री सती श्राप मोक्ष धाम र हजुरलाई नमस्ते परोपकारी अभियानको संयुक्त आयोजनामा ‘सती श्राप मुक्ति शिव शक्ति श्री महायज्ञ’ गरी देशमा शान्ति, सुव्यवस्था, अमन चयन तथा विभिन्न संकटबाट मुक्ति गराउने उद्देश्यले महायज्ञ गरिन लागेको हजुरलाई नमस्ते परोपकारी अभियानका प्रमुख तथा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।

राष्ट्रपतिबाट उद्घाटन हुने कार्यक्रम प्रधानमन्त्रीबाट समापन हुनेछ । समितिले नारायणहिटीभित्र राजा महेन्द्रले कोटि होम लगाएको पूजाकोठामै महायज्ञ लगाउने तयारी गरेको जानकारी दिएको छ । देश समस्यैसमस्या तथा ठूलो बेथितिले चलेको हुनाले मोक्ष प्राप्तिका लागि महायज्ञको आयोजना गरिएको संयोजक कुँवरले जानकारी दिनुभयो ।

नारायणहिटीभित्रै महायज्ञ गर्नुको कारणबारे संयोजक कुँवर भन्नुहुन्छ– ‘सतीले दिएको श्राप मेटाउनु नै प्रमुख कारण हो ।’ उहाँले ०५८ सालदेखि दरबारमा पूजा नभएकाले भगवानको आत्मा पनि रोएको महसुस भएकाले राजारानीले पुजेका देवीदेवताको पूजा गरिने बताउनुभयो । दरबारभित्र सुखैसुख हुन्छ भन्ने केही छैन दुःख पनि हुन्छ भन्दै संयोजक कुँवरले भन्नुभयो– ‘बाहिरबाट हेर्नेले दरबारभित्र सबै राम्रो देख्छन् तर वास्तविकता त्यस्तो नभएकाले दरबारभित्र दुःखको पनि मोक्ष होस्, वीरेन्द्रको वंशनाश भएको ठाउँमा मृत्यु भएकाहरूको आत्मालाई पनि शान्ति मिलोस् ।’

इतिहासका विभिन्न कालखण्डमा दुर्घटना, विपद्, आगलागी, बाढीपहिरो, भूकम्प, जनआन्दोलन आदिमा मृत्युवरण गरेका सम्पूर्ण आत्माको शान्तिका लागि २१ जना ब्राम्हणद्वारा होम हाल्ने कार्य रहेको छ । १ सय ५० जना अट्ने हलमा कोरोना महामारीलाई ध्यानमा राखी भौतिक दूरी कायम गर्दै स्वास्थ्यका सम्पूर्ण विधिहरू अवलम्बन गरी महायज्ञ लगाइने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । महायज्ञमा सहभागी हुनलाई पूर्वराजा ज्ञानेन्द्रलाई निमन्त्रण गर्ने निर्णय भएको समितिले जनाएको छ । संयुक्त रूपमा आयोजक कमिटी खर्च बेहोर्नेछ भने १९ गते नै उत्तम साइत रहेकाले राष्ट्रपतिद्वारा अग्नि प्रज्वलन गरी महायज्ञको थालनी गरिने आयोजकले जानकारी दिएको छ । रुद्री र चण्डी पाठ गरिने अन्य पूजापाठ नाचगान नगरिने महायज्ञमा नेपाली सेनाले उपलब्ध गराएको पास मात्र मान्य हुनेछ ।

पत्रकार सम्मेलनमा सनातन रूपमा चलेको हिन्दु धर्म समाप्त पार्न खोजिएकाले हिन्दु धर्मको रक्षार्थ तथा प्रत्येक मानव आत्माको शान्तिका लागि महायज्ञ गरिन लागेको हो । ‘शिव र शक्तिबिना यो संसार चल्दैन’, यज्ञविधानबारे चर्चापरिचर्चा गर्दै पण्डित बाबुराम रिजालले भन्नुभयो– ‘माघ महिनाको गोप्य नवरात्रमा महायज्ञ प्रारम्भ हुनेछ ।’
संहिताशास्त्री गुरु अर्जुनप्रसाद बास्तोलाले यज्ञको धूवाँले वायु प्रदूषण नहुने बरू शुद्ध हुने दृष्टान्त प्रस्तुत गर्दै धूपले वातावरणमा भएको प्रदूषणलाई हटाउने बताउनुभयो । उहाँले यो महायज्ञले नेपालमा पूर्ण शान्ति गराउने विश्वास रहेको बताउनुभयो ।

१९ गते बुधबारबाट शुरू हुने महायज्ञ प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ । बीचमा १२ बजेदेखि १ बजेसम्म मध्याह्न हुने छ भने बेलुकी ५ देखि ६ बजेसम्म ब्राम्हण भोजन र ७ बजे पूजा तथा आरती गरी ८ बजेसम्म चल्नेछ । महायज्ञको समापन २९ गते शनिबार हुने आयोजक कमिटीले जानकारी दिएको छ ।