विद्युत् नहुँदा अनलाइन कक्षा प्रभावित



लमजुङ ।

लमजुङमा कोरोना भाइरस संक्रमणबाट बच्न र कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय प्रशासनले स्मार्ट लकडाउन जारी गरेको छ । जिल्लामा संक्रमणको भयावह स्थिति सिर्जना हुन नदिन भन्दै प्रशासनले सम्पूर्ण शिक्षण संस्था पूर्णरूपमा बन्द गर्न निर्देशन दिएको थियो ।

कोरोना कहरका कारण लमजुङ जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरु पनि बन्द छन् । जसका कारण अहिले सबै विद्यालयले विद्यार्थीको शिक्षण सिकाइलाई नियमित बनाउनका लागि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् । तर, विद्युत् नियमित नहुँदा पढाइ भने प्रभावित बनेको छ ।

विद्यालयहरुले कक्षा सञ्चालन गर्दै आएको समय बिहान तथा दिउँसोको समयमै विद्युत् आपूर्ति बन्द हुँदा अनलाइन कक्षा प्रभावित बनेको हो । लमजुङमा विगत एक सातायता जीर्ण भएका विद्युतीय संरचना मर्मत तथा अपग्रेडिङ कार्यका लागि भन्दै नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले नै विद्युत् आपूर्ति बन्द गर्दै आएको छ । केन्द्रले पूर्वजानकारी दिएर नै विद्युत् आपूर्ति बन्द गरे पनि यसको प्रत्यक्षमा शिक्षण संस्था तथा विद्यार्थीमा परेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) लमजुङका सचिव विमल अधिकारीले बताउनुभयो ।

जिल्लाका अधिकांश विद्यालयले अहिले अनलाइन माध्यमबाट पठनपाठन शुरु गरेका छन् । केही विद्यालयले बिहान, दिउँसो तथा केही विद्यालयले बिहान, दिउँसो र बेलुका गरी तीन सिफ्टमा अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् । संरचनामर्मत तथा अपग्रेडिङ कार्य समयमा सम्पन्न नहुँदा तथा सोही कार्यका लागि पटक–पटक विद्युत् आपूर्ति बन्द हुँदा शिक्षण संस्थामात्र नभई कार्यालय तथा बैंक वित्तीय संस्थालगायतका संघ–संस्थाको कामसमेत प्रभावित बनेको छ । विभिन्न काम लिएर कार्यालयसम्म पुगेका सेवाग्राहीले निकै समस्या झेल्नुपरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्