२३ हजारभन्दा बढी बालबालिकाले लगाए खोप

0
Shares

जाजरकोट ।

जाजरकोटमा २३ हजार २ सय बढी बाललिकाले कोभिड–१९ विरुद्धको मोडर्ना खोप लगाएका छन् । पुस १२ गतेदेखि सञ्चालन गरेको पहिलो मात्रा खोप अभियानमा लक्ष्यभन्दा बढी बालबालिकाले खोप लगाएका हुन् ।

कोभिड–१९ विरुद्धको खोप अभियानमा जाजरकोटका सातवटै पालिकाका ७७ वडाका २ सय ५० विद्यालय तथा स्वास्थ्य संस्थामा खोप लगाएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । पुस १२ गतेदेखि शुरु भएको खोप अभियानमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका शतप्रतिशत बालबालिकाले खोप लगाएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका खोप सुपरभाइजर शान्तबहादुर बुढाथोकीले बताउनुभयो । सातवटै पालिकामा लक्ष्यभन्दा बढी नागरिकले खोप लगाएको उहाँ बताउनुहुन्छ । सातवटै पालिकाका १०२ दशमलब ०२ प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।

कोरोना महामारी नियन्त्रणको भरपर्दो माध्यम खोप भएकाले बारेकोटमा २ हजार ६ सय ३१, कुसेमा २ हजार ९ सय १०, जुनीचादेमा ३ हजार १ सय ४३, शिवालयमा १ हजार ४ सय ५६, छेडागाडमा ५ हजार ९९, भेरीमा ४ हजार ३ सय ११, र नलगाड नगरपालिकामा ३ हजार ६ सय ५१ जना बालबालिकाले मोडर्ना खोप लगाएको खोप सुपरभाइजर बुढाथोकीले जनाउनुभयो । गत वर्ष माघदेखि विभिन्न चरणमा ८६ हजार २ सय ४४ जना नागरिकले पहिलो र ६५ हजार ४ सय ७२ जनाले दोस्रो चरणको खोप लगाएको उहाँको भनाइ छ ।

बारेकोटमा ८ हजार ८ सय ८९, कुसेमा ८ हजार ४८, जुनीचाँदेमा ९ हजार ९३, छेडागाडमा १७ हजार २ सय ८३, शिवालयमा ५ हजार ८ सय ८६, भेरीमा २१ हजार ५ सय २४ र नलगाडमा १५ हजार ७ सय १५ जना अर्थात् ६५ दशमलब २० प्रतिशत र दोस्रो चरणमा ४९ दशमलब ४३ प्रतिशत नागरिकले खोप लगाएको उहाँ बताउनुहुन्छ । कोरोना भाइरसविरुद्धको खोप अभियान सातवटै पालिकामा सञ्चालनमा रहेको छ । खोप प्रभावकारी बनाउन स्थानीयस्तरमा सक्रियता बढेकाले खोप केन्द्रबाट खोप लिनेहरुको संख्यामा वृद्धि भएको बुढाथोकीको कथन छ । तेस्रो लहरको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखापर्न थालेपछि नागरिकमा खोप लगाउनुपर्ने चेतनाको विकास भएको छ ।