परिवारै भिख माग्न काठमाडौं

0
Shares

बाँके ।

बाँकेको मगान्ता टोलका रमेश मगान्ता (महावत) को घरमा ताला लागेको छ । राजेश, बलिरामलगायतका दुई दर्जन घर खालि छन् । घरमा ताला लगाएकाहरु सपरिवार नै काठमाडौं गएका हुन् । घरमा ताला लगाएर उनीहरु कमाउनका लागि काठमाडौं गएका हुन् । उनीहरुको कमाउने तरिका भने फरक छ । उनीहरुले काम गरेर होइन, भिख मागेर कमाइ गर्छन् ।

‘काठमाडौं गएकाहरु सबैले मागेर जीविका चलाउँछन् । मागेको रकम वचत गरेर घरमा ल्याउँछन् ।’ –स्थानीय खेडु मगान्ता भन्नुहुन्छ । बाँकेबाट गएका मगान्ताहरु काठमाडौंमा खालि ठाउँमा टेन्ट टाँगेर बस्छन् । बिहानदेखि साँझसम्म माग्ने काम गर्छन् । ‘पसल–पसल, घर–घरमा माग्दा दिनमा ७/८ सय हुन्थ्यो । ५/६ महिनामा घर फर्किंदा २५/३० हजार लिएर आउँथें ।’ –दशकअघि काठमाडौंमा माग्ने काम गरेका खेडु सम्झिनुहुन्छ ।

मगान्ता टोलका मानिस काठमाडौंसँगै पोखरा, सुर्खेत, दाङ, लुम्बिनीलगायत ठाउँमा माग्न जाने गर्दछन् । खेडुले काठमाडौंको कलंकी, खसीबजार, बल्खु, चावहिल, गोपीकृष्ण फिल्म हल आसपासमा टेन्ट टाँगेर बसेर माग्ने काम गरेको सम्झिनुभयो । घर नै खालि गरेर काठमाडौं पुगेका अधिकांशले अहिले पनि मागेर गुजारा चलाउँछन् । केहीले अन्य सानोतिनो काम गर्छन् ।

डुडुवा गाउँपालिका–६ मा पर्ने मगान्त टोलमा अझै मागेर खाने चलन हटेको छैन । विगतमा यो गाउँका सबैको कामको मागेर खाने थियो । पछिल्लो समयमा अलि–अलि पढेलेखेका पुस्ताले माग्न छोडे पनि अझै पूर्णरूपमा बन्द भइसकेको छैन । स्थानीय मैकी मगान्ताको बुहारी काठमाडौं गएकी छन् । छोरा राजेश पनि हिँडेको छ । घर खालि गरेर उनीहरु कमाउन काठमाडौं गएको मैकीले बताउनुभयो ।

मगान्ता टोलमा १ सय १२ घर छन् । केहीको पक्की घर छन् । ती घर पनि बन्द छन् । घरमालिक कमाउन बाहिर गएका छन् । मगान्ता टोलका पहिलो एसएलसी पास केलाराम मगान्ताले पुर्खाले अँगालेको मागेर खाने काम धेरैले छोडिसकेको बताउनुभयो । ‘धेरैले अन्य व्यवसाय गर्न थालेका छन् । केहीले मागेर खान्छन्’, केलाराम भन्नुहुन्छ– ‘घर खालि गरेर काठमाडौं र भारतका शहरमा पुगेकाहरु सानोतिनो काम गर्छन् ।’

विभिन्न संघ–संस्थाले गाउँमा समूह गठनदेखि सहयोग गर्न थालेपछि मगान्ताहरु अन्य पेसामा पनि लागेका छन् । अहिले धेरैले सुँगुर पालेका छन् । केहीले पसल थापेका छन् । सीपमूलक तालिमहरु दिने काम भइरहेको छ । काम गरेर खानभन्दा मागेर खान सजिलो मान्नेहरु परिवर्तन हुन सकेका छैनन् । बाँकेको हिरमिनिया, होलिया र जानकी तथा बर्दियाको बेलुवा, बढैयातालमा मगान्ताको सानो बस्ती रहेको छ । यो जातिलाई सरकारले अहिलेसम्म कुनै जातमा सूचीकृत गरेको छैन । अल्पसंख्याक र लोपोन्मुख यी जातिले सूचीकृत गरिदिन माग गरेको धेरै भइसकेको छ ।