प्रशासनले थाल्यो आलोपालो सेवा

0
Shares

बैतडी ।

जिल्ला प्रशासन कार्यालय बैतडीले यहाँका पालिकाअनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ । कोभिडको पछिल्लो नयाँ रूप ओमिक्रोन भेरियन्टको संक्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपालो सेवा दिने भएको हो ।

माघ ७ गतेदेखि लागू हुने गरी यहाँ पालिकाका नागरिकलाई बारअनुसार सेवा दिइने जिल्ला प्रशासन कार्यालय सूचना अधिकारी अधिकृत खगेन्द्र भारतीले बताउनुभयो । आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ । यस्तै, मंगलबार दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ भने बुधबार सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा दिइनेछ ।

बिहीबार पाटन नगरपालिका र शुक्रबार दशरथचन्द नगरपालिकाका नागरिकलाई सेवा दिइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । पुर्चौंडी नगरपालिकाको हकमा भने इलाका प्रशासन कार्यालय हाटबाटै नागरिकता प्रदान हुनेछ । प्रशासनमा सेवा दिन आउँदा पूर्ण खोप लगाएको कार्ड वा कार्डको फोटो खिचेर ल्याउनु्पर्ने र जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने जनाइएको छ ।

त्यसै गरी, कोरोनाको जोखिम बढ्दै गएकाले २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन प्रशासनले सूचनामार्फत आग्रह गरेको छ । जनस्वास्थ्यका मापदण्ड परिपालना गर्न समेत प्रशासनले सबैमा आग्रह गरेको छ । यस्तै, स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरेर १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई एक हप्ताभित्र खोप लगाइसक्नुपर्ने र त्यसका लागि कार्यतालिका बनाएर कार्यान्वयन गर्नुपर्ने प्रशासनले जनाएको छ ।

जिल्लामा पछिल्लो समय कोभिड संक्रमण बढ्दै गएपछि भीडभाड कम गरी स्वास्थ्य मापदण्ड अपनाएर आलोपाले सेवा दिन जिप्रकाले जिल्लास्थित सबै कार्यालयलाई निर्देशन दिएको छ । भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म संक्रमणका कारण १९ जनाको ज्यान गइसकेको छ ।