कोभिड नियन्त्रण गर्न सरकारी अनुगमन

0
Shares

काभ्रे ।

कोभिडको संक्रमण बढ्दै गएपछि जिल्लामा संक्रमण फैलन नदिन बुधबार बिहानैदेखि सरकारी अनुमगन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा अरनिको राजमार्गको बनेपा चारदोबाटो चोक, सार्वजनिक यातायात तथा अन्य क्षेत्रको अनुगमन गरिएको थियो ।

‘सार्वजनिक बसमा सिट क्षमताभन्दा धेरै यात्रु नबोक्न र यात्रुलाई अनिवार्य मास्क प्रयोग गर्न भनेका छौं’, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो– ‘सर्वसाधारणलाई पनि नियमित मास्क प्रयोग गर्न अनुरोध गरेका छौं । मास्क नहुनेलाई उपलब्ध पनि गराएका छौं ।’ सरकारी टोलीले सार्वजनिक यातायातका साथै होटल तथा पसल, सडकमा हिँड्ने पैदलयात्रीहरुलाई कोभिडबाट बच्न अनुरोध गर्दै मास्क वितरण गरेको थियो । सरकारले जारी गरेको ३६ बुँदेलाई अक्षरसः पालना गराउन टोलीले अनुगमन शुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले बताउनुभयो ।

अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी प्रमुख एसपी चक्रराज जोशी, सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तमराज सेढार्इं, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालालगायतको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईंका अनुसार दैनिक कोराना भाइरसका कारण संक्रमित हुने क्रम बढिरहेको छ ।

परिक्षणका लागि स्थानीय तहमा एन्टिजेन किट र पीसीआरका लागि भीटीएम पठाइसकिएको छ । ‘पहिले एन्टिजेन परीक्षण गरिन्छ । लक्षण भएर पनि नेगेटिभ देखिएकाहरुलाई पीसीआर गरिन्छ’, वरिष्ठ स्वास्थ्य प्रशासक डा. सेढाईं भन्नुहुन्छ– ‘संक्रमण हुनै नदिन खोप अभियानलाई पूर्ण बनाउँदै जनस्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गराउन अनुरोध गरेका छौं ।’

तर, पनौतीमा शुरु भएको मकर मेलाले सरकारी निर्णयको धज्जी उडाइरहेको छ । उहाँका अनुसार १३ वटै पालिकामा २६ जना सीआईसीटी टिमका सदस्यहरुलाई तालिम प्रदान गरिसकिएको छ । योपटक अभिलेख तथा सूचना प्रणालीलाई व्यवस्थित बनाइएको छ । कोभिड संक्रमित व्यक्तिको पूर्ण विवरण लिई उसलाई आवश्यक पर्ने अस्पताल र उपचार सेवाका बारेमा सोही टिमले सूचनाको अभिलेखीकरण गर्नेछ ।

कोभिड नियन्त्रणका लागि अरनिको राजमार्गको सिमाना भुम्लु गाउँपालिकाको दोलालघाट, बीपी राजमार्गको रोशीस्थित मंगलटार, बनेपाको साँगामा हेल्प डेस्क राखिएको डा. सेढाइले बताउनुभयो । स्थानीय तहलाई भइरहेका अस्पताललाई तयारी अवस्थामा रहन, अक्सिजन, अस्सिजन कन्सन्टेटरलगायतका सामग्रीहरु र जनशक्तिलाई तयारी रहन निर्देशन दिइएको छ । काभ्रेमा कोभिडबाट मंगलबार एक जनाको निधन भएको थियो ।