पर्वतमा बुधबारदेखि दश दिन निषेधाज्ञा

0
Shares

पर्वत ।

पर्वतमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएपछि बुधबारदेखि १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । कोभिड संक्रमितको संख्या दिन प्रतिदिन बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा लागू भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय पर्वतले बुधबारदेखि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पर्वतमा कोरोना संक्रमण फैलिएकाले शैक्षिक संस्था, होटल, सेवा प्रदायक निकाय, डिपार्टमेन्टल स्टोर्स, धार्मिक स्थल, यातायातलगायतका क्षेत्रमा फरक–फरक क्षेत्रमा समय तोकेर आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो ।

प्रजिअ खत्रीले अर्को आदेश जारी नभएसम्मका लागि जारी भएको निषेधाज्ञा आदेशमा शैक्षिक क्रियाकलाप सिनेमा हललगायतका क्षेत्रहरु माघ १५ सम्म पूर्णरूपमा बन्द गर्ने आदेश जारी गरिएको जानकारी दिनुभयो । त्यस्तै, गरी मठ–मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप माघ २९ सम्म बन्द गर्न आदेश जारी भएको छ । होटल व्यवसाय, डिपार्टमेन्टल स्टोर्स, सार्वजनिक सेवा प्रदायक निकायमा सेवाग्राहीको अनिवार्य दुवै डोज लगाएको खोपकार्ड देखाएर मात्र सेवा दिन आदेश जारी भएको छ ।

आदेशलाई अवज्ञा गरिएमा कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत जिल्ला प्रशासन कार्यालय पर्वतले दिएको छ । संक्रमण बढे पनि सर्वसाधारणले संक्रमण प्रति बेवास्ता गरेको उल्लेख गर्दै प्रजिअ खत्रीले सबै सजग रहन समेत आग्रह गर्नुभएको छ ।

पर्वतमा पछिल्लो समय एन्टिजेन परीक्षणलाई तीव्रता दिइएसँगै परीक्षण गरिएकामध्ये झण्डै ७० प्रतिशतमा संक्रमण देखिएको छ । नेकपा एमाले पर्वतको नवौं जिल्ला अधिवेशनमा सहभागी नेता तथा प्रतिनिधि सबै बिरामी परेका छन् । उनीहरुमा पनि सक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।

पर्वतमा रहेका पर्यटकीय क्षेत्रहरुमा पनि पछिल्लो समय भीडभाड बढेको थियो भने नेपाली कांग्रेसले भातृ संगठन निर्माण र टोलभेला गर्दै आएका छन् । छिमेकी जिल्ला बागलुङमा जैमिनी महोत्सव र कालीगण्डकीकिनारका मोदीबेणी, सेतीबेणीलगायतका तीर्थस्थलमा माघे संक्रान्तिमा मेलासमेत लागेका थिए ।