लमजुङमा पाँच सयभन्दा बढीले लगाए बुस्टर डोज

0
Shares

लमजुङ ।

कोभिड–१९ संक्रमणको तेस्रो लहर शुरू भएसँगै लमजुङमा कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन शुरु गरिएको छ । पहिलो दिन बुधबार जिल्लाका अग्रपंक्तिमा खटिने ५ सयभन्दा बढीले खोप लगाएका छन् ।

जिल्लाको सदरमुकाम बेंसीशहरस्थित जिल्ला अस्पतालमा बुधबारदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन शुरु गरिएको हो । अस्पतालसँगै बुधबार बेंसीशहर नगरपालिकाअन्तर्गत वडा नम्वर ७ र ८, उदीपुरस्थित नेपाली सेनाको श्रीजंङ गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी र कारागारमा रहेका कैदीबन्दीहरुलाई पनि बुस्टर डोज खोप दिइएको स्वास्थ्य कार्यालय लमजुङका खोप सम्पर्क व्यक्ति यम बरालले बताउनुभयो । ‘पहिलो दिन ५ सयभनदा बढीले बुस्टर खोप लगाएका छन् ।’ –उहाँले भन्नुभयो ।

जिल्लाका आठवटै स्थानीय तहमा कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्नेहरुलाई बुस्टर डोज खोप दिने निर्णयअनुरूप पहिलो चरणमा बेंसीशहरमा मात्रै खोप लगाइएको छ । जिल्लाका अन्य स्थानीय तहहरुले भने शुक्रबारदेखि खोप सेवा प्रदान गर्ने छन् ।

सरकारले खोप लगाएको ६ महिना पुगेका अग्रपंक्तिमा खटिने सबैलाई बुस्टर डोज खोप उपलब्ध गराएको जनाएको छ । सोहीअनुरूप सबै स्थानीय तहका वडामा रहेका स्वास्थ्य संस्थामा खोप केन्द्र कायम गरी खोप सेवा प्रदान गरिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीका अनुसार अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी, जनप्रतिनिधिहरु, सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहोर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि बुस्टर डोज खोप उपलब्ध गराएको छ । यस्तै, सर्वाजनक क्षेत्र सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ–संस्था, बैंकिङ सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज उपलब्ध गराएको उहाँले बताउनुभयो ।

यसै गरी ६० वर्षमाथिका जेष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई समेत बुस्टर डोज खोप उपलब्ध गराएको छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामी, सक्रिय क्यान्सरका विरामी, अंग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामीले पनि बुस्टर खोप लगाउन पाउने भएका छन् ।

गम्भीर वा मध्यरूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुले खोप लगाउन जाँदा दुई मात्रा खोप लगाएको खोपकार्ड र उपचार पुर्जा अनिवार्य देखाउनुपर्ने र अन्यलाई भने दुई मात्रा खोप लगाएको खोप कार्डको आधारमा बुस्टर डोज दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो बुस्टर डोजमा पनि त्यही खोप लगाइने भएकाले स्वास्थ्य कार्यालयले खोपकार्ड अनिवार्य लिएर खोप केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

संक्रमित वृद्धको मृत्यु
लमजुङमा कोरोना भाइरस संक्रमित एक वृद्धको मृत्यु भएको छ । मस्र्याङ्दी गाउँपालिका–६ का ८७ वर्षीय पुरुषको वृद्धको मंगलबार बेलुका ९ बजे मृत्यु भएको हो ।
रुघाखोकीसँगै ज्वरोको समस्या देखिन थालेपछि पुस २४ गते उनलाई पोखरा लगिएको थियो । पोखरास्थित मणिपाल अस्पतालमा पीसीआर परीक्षण गर्दा वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भए पनि सोही दिननै गृह जिल्ला फर्केर जिल्ला अस्पताल लमजुङको आइसोलेसनमा बसेका वृद्धको मंगबार बेलुका ९ बजे मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।

मृतकको शव व्यवस्थापन बेंसीशहर नगरपालिका–१ उदीपुरस्थित श्रीजंग गणको शव व्यवस्थापन टिमले गरेको छ । एक जना थप भएसँगै लमजुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।