जिल्ला प्रशासन कार्यालय रूपन्देही बन्द

0
Shares

बुटवल, (नेस) ।

जिल्ला प्रशासन कार्यालय रूपन्देहीले आफ्नो सबै सेवाहरु अर्को सूचना नभएसम्मका लागि बन्द गरेको जनाएको छ । जिप्रकाले एक सूचना जारी गर्दै शान्ति सुरक्षा, मुद्दालगायत अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गरेको जनाएको हो ।

नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता/नवीकरण, पेन्सन सिफारिस/प्रमाणित, नाबालक परिचयपत्रलगायतका अन्य सेवाहरु अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी भएको सूचनामा अत्यावश्यक सेवा लिन आउनेका लागि पनि खोपकार्ड अनिवार्य गरेको छ ।

कोभिडको बढ्दो संक्रमणका कारण कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आइसोलेसनमा रहेको र कार्यालयमा अत्यधिक भीडभाड हुँदा कोभिड थप फैलिन सक्ने भएकाले कार्यालय बन्द गरेको प्रजिअले बताउनुभयो ।

त्यस्तै, लुम्बिनी प्रदेशको सवारीचालक अनुमतिपत्र (लाइसेन) वितरण गर्ने कार्यालय पनि अनिश्चित्कालीनरूपमा बन्द गरिएको छ । कार्यालयका अधिकांश कर्मचारीलाई कोरोना भएकाले सेवा बन्द गरिएको सो कार्यालयले जनाएको छ ।