नाडाल तेस्रो चरणमा प्रवेश

0
Shares

मेलबर्न, (एजेन्सी) ।

करियरको २१ औं ग्रान्डस्लाम उपाधि जित्ने अभियानमा लागेका राफायल नाडाल अस्ट्रेलियन ओपनको तेस्रो चरणमा पुगेका छन् । मेलबर्न पार्कमा बुधबार भएको दोस्रो चरणको खेलमा स्पेनी खेलाडी नाडालले जर्मनीका यानिक हान्फम्यानलाई हराएका हुन् । उनले क्वालिफायर खेलाडीलाई ६–२, ६–३, ६–४ ले पराजित गरेका थिए । खेलमा हान्फम्यानले चार म्याच प्वाइन्ट बचाए पनि नाडाललाई जितबाट वंचित गर्न सकेनन् । नाडालले अर्को चरणमा रुसका खेलाडी कारेन खाचानोभसँग खेल्नेछन् । खाचानोभले फ्रान्सका बेन्जामिन बोन्जीलाई हराएका थिए ।

नाडालले अस्ट्रेलियन ओपन २००९ मा जितेका थिए । यसपछि उनले मेलबर्नमा उपाधि जित्न सकेका छैनन् । यो प्रतियोगितामा ९ पटकको अस्ट्रेलियन ओपन विजेता नोभाक जोकोभिचको अनुपस्थितमा नाडाललाई उपाधि दावेदारीको रूपमा हेरिएको छ । उनले यदि यो उपाधि जितेमा २१ औ कीर्तिमानी ग्रान्डस्लाम उपाधि हु्नेछ । हाल बिग थ्री जोकोभिच, नाडाल र रोजर फेडेररले समान २० ग्रान्डस्लाम जितेर संयुक्तरुपमा कीर्तिमान साझेदारी गरिरहेका छन् ।

अर्का जर्मन खेलाडी एलेक्जान्डर ज्वेरेभ भने तेस्रो चरणमा पुग्न सफल भए । ज्वेरेभले अस्ट्रेलियाका जोन मिलम्यानलाई सीधा सेटमा हराएका थिए । उनको सामना अर्को चरणमा माल्डोभाका राडु एल्बटसँग हुनेछ । एल्बटले वाइल्ड कार्ड प्राप्त एलेक्सान्डर भुकिचलाई सीधा सेटमा पराजित गरेका थिए ।

प्रतियोगिताको १० औं वरियता प्राप्त पोल्यान्डका हुबर्ट हुर्काज भने बाहिरिए । उनलाई फ्रान्स एड्रियन मानारिनोले स्तब्ध पारेका थिए । फ्रान्सकै गाएल मोन्फिल्सले काजाकस्तानका एलेक्जान्डर बुबिकलाई हराए । अमेरिकी खेलाडी सेबास्टियन कोर्दाले फ्रान्सका कोरेन्टिन मौटेटलाई निरास पारे । कोर्दाको सामना अर्को चरणमा पाब्लो कारेनो बुस्टासँग हुनेछ ।
वोमेन्स सिंगल्सकी विश्व नम्बर एक एसलिग बार्टी र डिफेन्डिङ च्याम्पियन नाओमी ओसाका पनि तेस्रो चरणमा पुगेका छन् । अस्ट्रेलियाकी बार्टीले इटालीकी लुसिया ब्रोन्जेटीलाई सहजै सीधा सेटमा हराएकी थिइन् । अर्को चरणमा उनको सामना इटालीकै खेलाडी कामिला गियोर्गीसँग हुनेछ ।

त्यस्तै, जापानकी ओसाकाले अमेरिकाकी मेडिसन ब्रेन्गललाई सीधा सेटमै पाखा लगाएकी थिइन् । ओसाकाको तेस्रो चरणमा भिडन्त पनि अमेरिकाकै एमान्डा एनीसीमोभासँग हुनेछ । एनीसोभाले ओलम्पिक स्वर्ण पदक विजेता बेलिन्डा बेन्चिचलाई पाखा लगाएकी थिइन् । स्विस खेलाडीले जापानमा भएको ओलम्पिक गेम्स २०२१ मा वोमेन्स सिंगल्सतर्फ स्वर्ण पदक जितेकी थिइन् ।

यसैगरी दुई पटकको अस्ट्रेलियन ओपन विजेता भिक्टोरिया अजारेन्का पनि तेस्रो चरणमा पुगिन् । बेलारुसकी खेलाडीले जिल टिचमानलाई सहजै हराएकी थिइन् । अमेरिकाकी मेडिसन किजले रोमानियाकी जेकलिन क्रिस्टिनलाई हराएर अर्को चरणमा पाइला चालिन् । युक्रेनकी एलीना स्विटोलिनाले उनकी प्रतिद्वन्द्वी फ्रान्सकी हारमोनी टान रिटायर्ड हर्ट भएपछि दोस्रो चरण पार गरेकी थिइन् । त्यतिबेला स्वीटोलिना निर्णायक सेटमा ५–१ ले अघि थिइन् ।