मास्क नलगाउनेलाई १०० रुपियाँ जरिवाना

0
Shares

काठमाडौं, (नेस) ।

कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएर जनजीवनलाई नै अस्तव्यस्त बनाउन थालेपछि स्थानीय प्रशासनले जारी गरेको नियममा कडाइ शुरू गरेको छ । प्रशासनले जारी गरेको निर्देशनलाई अवज्ञा गरेको भन्दै प्रशासनले नागरिकमाथिको निगरानी बढाएको छ । सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्नेलाई कारबाहीस्वरूप १ सय रुपियाँ जरिवाना लिन थालेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमडौंले सुनधारा, कलंकीलगायतका क्षेत्रको अनुगमन गरी मास्क नलगाई बजारमा किनमेल गर्ने सार्वजनिक सडकमा ओहोरदोहोर गर्नेलाई १ सयका दरले जरिवाना गरेको छ । प्रशासनको टोलीले सुन्धाराको सीटीसी मल, कलंकीको भाटभटेनी सुपर मार्केटको अनुगमन गरेर मास्क नलगाउनेलाई जरिवाना गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

त्यसरी प्रशासनले जारी गरेको निर्देशिकाको पालना नगर्नेमाथि पहिलोपटक सम्झाईबुझाई १ सय रुपियाँ जरिवाना गरेको र फेरि अटेर गरे स्थानीय प्रशासन ऐन २०५६ अनुरूप कारबाही गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले नागरिकमा चेतना नआएसम्म कोरोना नियन्त्रणमा सरकारको एक्लो प्रयासले काम नगर्ने बताउँदै सबै नागरिकलाई सचेतना अपनाउन पनि आग्रह गर्नुभयो ।