कोरोना नियन्त्रणमा प्रहरीको सक्रियता

सिंहदरबार प्रवेशमा थप कडाइ



काठमाडौं, (नेस) ।

कोभिड–१९ को संक्रमण उच्च गतिमा वृद्धि भएसँगै नेपाल प्रहरीले कोरोना नियन्यत्रणका लागि भीडभाड नियन्त्रणमा ध्यान दिएको छ । दैनिक ११ हजारभन्दा बढी कोभिड संक्रमित भएसँगै प्रहरीले सरकारले जारी गरेको ३६ बुँदे निर्णय कार्यान्वयनअन्तर्गत भीडभाड हुने गतिविधिमा रोक लगाएको हो । प्रहरीले तपाईंको मास्क खोई भन्ने कार्यक्रमलाई निरन्तरता दिँदै भीडभाड नगर्न आग्रह गर्दै आएको छ ।

नेपाल प्रहरीका प्रवक्ता विष्णु केसीले नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गराउने कार्यमा प्रहरीले देशव्यापी रूपमा अभियान सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलिरहेको छ, यस्तो बेला नागरिकहरू स्वयम् जिम्मेवार हुने बेला आएको छ ।’ प्रहरीले भौतिक दूरी कायम गर्न, भीडभाडजन्य गतिविधि नगर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै सार्वजनिक सवारीसाधनमा मास्कको प्रयोग अनिवार्य गराउन नियमित रूपमा अनुगमन गरिरहेको उहाँले बताउनुभयो ।
सीमा नाकालाई पनि व्यवस्थित बनाउन प्रहरी स्वास्थ्यकर्मीसँगको समन्वयमा थर्मल गनमार्फत ज्वरो नाप्ने कोभिडको लक्षण भएका व्यक्तिहरूको एन्टिजेन परीक्षणको कामलाई अनिवार्य गराइएको प्रवक्ता पाण्डेले बताउनुभयो । उहाँका अनुसार बुधबारसम्म ५ सय ८३ जना प्रहरीहरू कोभिड संक्रमित भएका छन् ।

त्यसै गरी प्रहरीले सिंहदरबार प्रवेशमा थप कडाइ गर्ने भएको छ । मन्त्री, सचिवसहित सिंहदरबारभित्र धेरै कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै सिंहदरबार प्रवेशमा कडाइ गर्न लागेको हो । प्रहरीले माघ ७ गतेबाट सिंहदरबार प्रवेशमा खोप कार्ड अनिवार्य गर्दै गृह मन्त्रालयको सिफारिसमा मात्र प्रवेश गर्न दिने भएको भएको छ ।

सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालयले गेटमा पठाउने पासको बारेमा सरकारले गृह मन्त्रालयको समन्वय मात्र प्रवेशको अनुमति दिइने भएको छ । कोरोना संक्रमण बढेसँगै सिंहदरबारभित्र भीडभाड कम हुँदै जान थालेको छ । दैनिक झण्डै दुई हजारसम्म आगन्तुक प्रवेश गर्ने सिंहदरबामा बुधबार करिब १ सय ५० जना आगन्तुक प्रवेश गरेका थिए ।

सिंहदरबार प्रहरी गणका डीएसपी आनन्दराम शर्माले सिंहदरबार प्रवेशमा कडाइ गरिएको बताउनुभयो । उहाँले सरकारको निर्णयअनुसार सिंहदरबार प्रवेश गर्ने आगन्तुकहरू चेकजाँचको कडाइ गरिएको बताउनुभयो । सरकारले अस्थायी रूपमा जारी गरिएको परिचय पत्र खारेज गरिसकेको छ । प्रहरीले सिंहदरबारको दक्षिण गेटमा थर्मल गनमार्फत ज्वरो चेकजाँच गर्ने, मास्क नलगाउनेलाई प्रवेश गर्न नदिनेलगायतको काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्