विश्वकै दोस्रो लामो जीपलाईनमा बच्चादेखि वृद्धसम्मको आकर्षण

0
Shares

दुर्गाप्रसाद शर्मा ,पर्वत । 

पर्वतको कुस्मामा सञ्चालनमा आएको विश्वकै दोस्रो लामो जीपलाईनमा सयर गर्न बच्चा देखि वृद्ध सम्म आकर्षित भएका छन् ।पर्वतको कुस्माको चाक्लेडिलबाट काली गण्डकी किनारको सानोबगर सम्म निर्माण गरिएको सुपर म्यान शैलीको जीपलाईनमा बच्चा, वृद्धको भीड लाग्न थालेको हो ।

सुपर म्यान शैलीमा विश्वकै दोस्रो भएको दाबी गरिएको पर्वतको जिपलाइन गत पुस २४ गतेबाट औपचारिक रुपमा सबैको लागि खुला गरिएको हो। जीपनलाई सुरु भएको डेढ हप्तामा नै  ७० वर्षीय वृद्ध देखि ८ वर्षका बच्चा सम्मले जीपनलाई शेयर गरेका छन् । पर्वतको कुस्मा नगरपालिका–४ राधाकृष्ण टोलका पण्डित कृष्णप्रसाद आचार्यले उत्साहका साथ जिलाइनमा बगेको भिडियो अहिले टिकटक, फेसबुकमा चर्चित भएको छ ।

बुढेसकालमा पनि जिप लाइनका लागि साहस जुटाएका आचार्यले जिलाइनमा बहँदा निकै आनन्द मिलेको र फेरि पनि बग्न मन लागेको बताउनुभयो । ‘जिपलाइन मात्रै होइन म त बन्जी पनि गर्न सक्छु, अहिले पनि पौडेर काली गण्डकी नदी तर्न सक्छु। म त नारायणीमा बग्दै बाघचाल हानेको मान्छे हुँ।’ उहाँले भन्नुभयो ‘देवघाटबाट उत्तानो परेर पौडिँदै नारायण घाटसम्म पुगेको छु। त्यो बेलामा १७ वर्षको थिएँ।’ज्येष्ठ नागरिक मात्रै होइन कास्कीको पोखरा घर भएका नौ वर्षीय अर्णवकाजी श्रेष्ठले पनि साहसपूर्वक डेढ किलोमिटर लामो जिलाइनको तारमा बग्दा सबैले प्रशंसा गरेका छन् ।

सदरमुकाम कुस्मा घर भएकी १४ बर्सिया मेमोरिना केसी र बिबिता बिकले त जिलाइनको औपचारिक सुरुवात नहुँदै परीक्षणकालमा नै जिलाइनमा बगेर सबैलाई आकर्षित गरिदिएका छन् । पोखराका श्रेष्ठले पनि काली गण्डकी नदीमाथिको जिलाइनमा बहँदा रमाइलो महसुस भएको बताउँदै आफ्ना साथीहरूलाई पनि पठाउने बताउनुभयो । ‘ जिलाइनमा डरभन्दा मनोरञ्जन बढी भयो ।’ उहाँले भन्नुभयो ‘अरू साथीहरूलाई पनि पठाउँछु।’

सामान्यतः साहसिक खेलमा युवाहरूको आकर्षण बढी हुने गरेकोमा जिलाइनमा भने ७० वर्ष उमेरका व्यक्तिले समेत आँट गर्दा आफूहरूले पर्यटकीय विकासका लागि राखेको अपेक्षा पूरा भएको जीपनलाई सञ्चालन गरिरहेको हार्ने प्रालिका अध्यक्ष बिदुर पौडेलले बताउनुभयो । ‘साना उमेरका बालबालिका र यति धेरै उमेरका ज्येष्ठ नागरिकले पनि जिलाइनमा आँट गर्न सक्नुहुन्छ होला भन्ने त लागेको थिएन तर कृष्ण बुबाले गरेको आँटले जिलाइनमा जानुपर्ने सन्देश दिएको छ।’ उहाँले भन्नुभयो ‘बलियो सुरक्षाका साथ यात्रा गराइने भएकाले धेरैको आकर्षण बढेको छ। काली गण्डकी नदी सतहबाट झन्डै अडाइ सय मिटरको उचाइबाट गण्डकीलाई दुई ठाउँमा क्रस गर्नुको आनन्दले पनि धेरैलाई लोभ्याएको छ।’

पोखरा र अन्य ठाउँहरूबाट पनि धेरै पर्यटकले जिलाइनमा आउने इच्छा राख्दै समय बुक गराउने क्रम बढिरहेको प्रबन्ध निर्देशक सुनिलसिंह बानियाँले बताउनुभयो । ‘बन्जी, स्वीङ लगायतका साहसिक खेलभन्दा जिलाइनमा केही कम डर लाग्ने अनुभव जिलाइनमा बगेकाहरुले सुनाएका छन्। जिपलाइनप्रति उनीहरुको धारणा कस्तो रह्यो भन्नका लागि हरेक जनासँग सोध्ने गरेका छौँ’ , उहाँले भन्नुभयो ।

जिपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ। सञ्चालनमा आएको केही दिनसम्म उद्घाटनको अवसरमा १० प्रतिशत छुट दिइएको छ। काली गण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जिलाइनको सुरुवाती गति प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ। १४ सय ८० मिटरको दूरी पार गरिसक्दा काली गण्डकी नदी किनारमा कम्पनीले नै निर्माण गरेको रिपोर्टमा पुगेर जिलाइनको ल्यान्डिङ हुनेछ।