मधेस प्रदेशका मुख्यमन्त्रीको निवासमा ढुङ्गा प्रहार गर्ने पक्राउ

0
Shares

काठमाडौं ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निजी निवासमा ढुङ्गा प्रहार गर्ने एक जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका १३ तेजारथ टोलमा रहेको मुख्यमन्त्रीको निजी निवासमा ढुङ्गा प्रहार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका १ का सुमन पटेललाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका ८ घण्टाघरबाट प्रदेश नम्बर २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर निर्णय भएको विरोधमा निस्केको मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गर्ने क्रममा र्‍यालीसँगै मोटरसाइकलमा आएका पटेलले मुख्यमन्त्रीको निजी निवासमा एक्कासी ढुङ्गा प्रहार गर्दा निवासको २ वटा सिसा फुटेर क्षति भएको छ ।

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले उनलाई तत्काल पक्राउ गरी आपराधिक उपद्रव सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।