ढिलासुस्तीका योजनालाई गति दिँदै प्रदेश सरकार

0
Shares

हेटौंडा ।

वागमती प्रदेशभित्र सञ्चालित योजनाहरु चाहे त्यो संघीय सरकारबाट निर्माणाधीन होस् वा प्रदेश सरकारबाट सञ्चालित विकास निर्माणका आयोजनामा ढिलासुस्ती हटाउन प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आकस्मिक तथा नियमित अनुगमनलाई तीव्रता दिन थाल्नुभएको छ ।

मुख्यमन्त्री नियुक्त भएसँगै वागमती प्रदेश सरकारको महत्वपूर्ण आयोजना भैंसे–भीमफेदी सडकमा रहेको निर्माण व्यवसायीको ढिलासुस्ती र स्थानीयबाट भएको अवरोध हटाउन भौतिक पूर्वाधार विकासमन्त्री, सचिव तथा यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुखलाई तोकिएको समयसीमाभित्र सडक निर्माण कार्य पूरा गर्न निर्देशन दिनुभएको थियो । निर्माणमा आलटाल गरे तुरुन्त कारबाही गर्न निर्देशन तथा स्थानीयसँग छलफल गरी निजी स्वामित्वका घरजग्गा नभएका स्थानमा सडक विस्तारमा अवरोध नगर्न सहजीकरण गरिएसँगै उक्त सडकखण्डको निर्माण गतिले तीव्रता पाएको मुख्यमन्त्री पाण्डे बताउनुहुन्छ ।

प्रदेशसभा भवन निर्माणमा रहेको ढिलासुस्ती अमान्य हुने र उक्त कार्य अघि नबढाए उक्त काममा ढिलासुस्ती गर्ने दोषीलाई कारबाही गर्ने निर्देशनसँगै प्रदेशसभा निर्माण कार्यमा समेत तीव्रता आएको उहाँको भनाइ छ ।

विकास निर्माणका योजनालाई समयमा सम्पन्न गर्न सम्झौताको समयमा समयसीमा निर्धारण गर्नेदेखि योजना अनुगमन नियमितरूपमा गरिने र योजना कार्यान्वयनमा आइपर्ने समस्यालाई तत्काल समाधानका लागि प्रदेश सरकारले प्राथमिकताका साथ कार्य अघि बढाइने पाण्डेले उल्लेख गर्नुभयो ।

सम्बन्धित निकायहरुले तालिकाबद्ध रूपमा योजना अनुगमन तथा रिपोर्टिङ गर्ने प्रणालीलाई योजनासँगै कार्यान्वयन गर्ने व्यवस्था मिलाइएको हुँदा अब विकास निर्माण कार्य अपेक्षित गतिसाथ अघि बढ्ने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । हचुवाको भरमा योजना तर्जुमा गर्ने र व्यक्ति विशेष लाभान्वित हुने गरी बजेट तर्जुमा र लगानी गर्ने परिपाटी निस्तेज गर्ने कार्य प्रदेश सरकारले अघि बढाउने नीति लिएको उहाँको कथन छ ।

आगामी दिनमा प्रदेश नीति तथा योजना आयोगबाट नीति योजना तर्जुमा गर्ने परिपाटीलाई संस्थागत गर्दै योजनाबद्ध विकासमार्फत समृद्ध वागमती प्रदेश निर्माण गर्ने लक्ष्य हासिल गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाले सोहीअनुसार सहकार्य गर्न सरोकारवाला पक्षहरुलाई उहाँले अनुरोध पनि गर्नुभएको छ ।

ठेक्का लागेको १० वर्षभन्दा बढी भइसक्दा पनि नबनेको पूर्वी मकवानपुरको वागमतीबाट सिन्धुली जोड्ने वागमती पुललाई तोकिएको समयमा सम्पन्न गर्न मंसिर पहिलो साता मुख्यमन्त्रीबाट गरिएको आकस्मिक निरीक्षणका क्रममा दिइएको निर्देशनले पुल निर्माणले तीव्रता लिएको स्थानीय खड्गबहादुर पुलामीले बताउनुभयो ।

सोही सन्दर्भमा अघिल्लोपटक दिइएको निर्देशन कार्यान्वय भए/नभएको र पुल निर्माणको प्रगति कति छ भनेर मंगलबार प्रदेशका मुख्यमन्त्री पाण्डेले आयोजना प्रमुख मकवानपुर तथा सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित पुल निर्माणबारे चासो लिँदै अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा पुल निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका जयराम लामिछानेले पुलमा सामान्य यातायात सञ्चालन हुन सक्ने बताउनुभयो । ‘यातायात सञ्चालनमा समस्या छैन, पुलमा सामान्य कालोपत्र र पुलसँगै केही ड्याक बनाउने काम चाँडै सकिने छ ।’ –उहाँले भन्नुभयो ।