प्रधानमन्त्री कपको फाइनलमा दुई पुलिस

0
Shares

काठमाडौं ।

जारी प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा दुई पुलिस टिम पुगेका छन् । मंगलबार भएका सेमिफाइनल खेलमा जित हात पार्दै नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब फाइनला पुगेका हुन् । पुलिसले बागमती प्रदेशलाई ५० रनले हराएर फाइनलको यात्रा तय गरेको हो । त्यस्तै, अर्को पुलिस टिम एपीएफले भने त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पाखा लगाएको हो । उपाधिको लागि त्रिवि मैदानमा आज प्रतिस्पर्धा हुनेछ ।

त्रिवि मैदानमा भएको खेलमा पुलिसले १ सय ५६ रनको लक्ष्य दिएको थियो । जवाफमा बागमती प्रदेश १ सय ५ रनमै सीमित भएको थियो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बागमतीको लागि ओपनर आदिल खानले सर्वाधिक २७ रनको योगदान दिए । उनीपछि कप्तान ज्ञानेन्द्रले केही राम्रा शट प्रहार गर्दै २३ रन जोडे भने रामनरेश गिरी २२ रनमा नटआउट रहेका थिए । तर, अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न नसक्दा बागमतीले पुलिसलाई नतिजा सुम्पिनुपरेको थियो ।

पुलिसको लागि दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गर्नु नै जितको आधार बनेको थियो । दीपेन्द्रले ४ ओभरमा मात्र १० रन खर्चेर ५ विकेट हासिल गरेका थिए । उनले वागमतीका कप्तान ज्ञानेन्द्रलाई आउट गरेर टिमलाई जिततिर अग्रसर गराए । यसपछि उनले विपिन आचार्य (२ रन), नन्दन यादव (६ रन), प्रतिश जिसी (४ रन) र आदिल खानको विकेट लिएका थिए । यस्तै, सागर ढकालले २ विकेट लिँदा आरिफ शेखले १ विकेट प्राप्त गरेका थिए ।

यसअघि, पुलिसले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ५५ रन बनाएको थियो । टिमका लागि ओपनर पवन शर्राफले सर्वाधिक ५९ रन बनाए । अन्यमा दिलीप नाथले ३१ रन र अनिल शाहले २५ रनको योगदान दिए । वागमतीका बलरमा रिजन ढकाल, नन्दन यादवले २/२ विकेट लिएका थिए ।

लोकेशद्वारा १४ बलमै अर्धशतक
अर्को खेलमा एपीएफले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय ३० रनको विशाल योगफल बनाएको थियो । आसिफ शेख र लोकेश बमले विस्फोटक ब्याटिङ गरेपछि एपीएफले ठूलो स्कोर बनायो । ओपनर आसिफले १० चौका र ५ छक्का प्रहार गर्दै ४३ बलमा ८४ रन बनाए । यस्तै, लोकेशले १८ बलमै ६८ रन बटुलेका थिए । १४ बलमै अर्धशतक प्रहार गरेका उनको आकर्षक ब्याटिङमा ९ छक्का र २ चौका सामेल थिए । उनीहरूले ६१ बलमा १ सय ११ रन लिएर आर्मीको बलिङ आक्रमक कमजोर बनाइदिएका थिए ।

यसअघि, प्रदीप ऐरी र आसिफ शेखले प्रारम्भिक विकेटका लागि पनि विस्फोटक ब्याटिङ गरे । उनीहरूले १५ ओभरमा १० नेटरनरेटसहित १ सय ५० रनको साझेदारी गरेका थिए । प्रदीपले ५३ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५७ रन जोडे । त्यस्तै, प्रदीप र आसिफले तेस्रो विकेटका लागि २१ बलमा ६८ रन साझेदारी गरेका थिए । दुवै जना नटआउट रहेका थिए ।

आर्मीको बलिङमा जितेन्द्र मुखियाले १ विकेट लिन ४ ओभरमा ५७ रन खर्चे भने सुमित श्रेष्ठले १ ओभरमा १९ रन खर्चेर १ विकेट लिएका थिए । अन्यमा विक्रम सोबले २ ओभरमा २२ रन, सुसन भारीले ४ ओभरमा ४३ रन, कुशल मल्लले २ ओभरमा २९ रन र शाहब आलमले ३ ओभरमा ३० रन खर्चेका थिए । उनीहरू विकेटविहीन बन्दै महँगो साबित हुँदा हरि चौहानले ४ ओभरमा २४ रन दिएर केही किफायती बलिङ गर्न सफल भए ।

जवाफमा आर्मीले २० ओभरमा १ सय ८३ रन जोडेको थियो । कोही पनि खेलाडीले आवश्यकअनुसार रन लिन सकेनन् । टिमका लागि राजेश पुलामीले ३८ रन, भीम सार्कीले ३५ रन, सुमित श्रेष्ठले २४ रन, हरि चौहानले २२ रन र साहब आलमले २१ रनको योगदान दिनु नै केही उल्लेखनीय प्रदर्शन थियो । एपीएफको बलिङमा शरद भेषवाकरले सर्वाधिक ३ विकेट लिए भने अविनाश बोहरा र भुवन कार्कीको हातमा २/२ विकेट परेको थियो ।