नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित दुई जना पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट आइतबार नै सशस्त्र प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने ३३ बण्डल कागजसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका १ बस्ने २३ वर्षिय असरक महोमद धोबी र जनकपुर उपमहानगरपालिका ६ बस्ने २६ वर्षिय मोहमद मुजाहिद रेजा रहेका छन् ।

बा २१ च ६७६१ नम्बरको कारमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा एक हजारको ६ सय वटा, पाँच सयको १८ सय वटा र एक सयको ९ सय वटा कागज फेला पारिएको हो । पक्राउ परेका दुवैजनालाई बरामद रुपैयाँ, नक्कली नोट छाप्ने कागज तथा कारसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले बताए ।

 

लागूऔषधसहित दुई जना पक्राउ
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ स्थित सीमा ईलाकाबाट आइतबार सशस्त्र प्रहरीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेम सर्लाही जिल्लाको लालबन्दी नगरपालिका २ नवलपुर बस्ने १९ वर्षिय मोहमद शम्सेर मन्सुरी रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका मन्सुरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा कोडीवील ११ बोतल, स्पास्मो १३ वटा र प्रोक्सिभन १३ वटा फेला पारेको हो ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले सोमबार एभिल १३ एम्पुल तथा ९ एम्पुल डाईजिल्यापसहित मोरङको बिराटनगर महानगरपालिका १६ हुलास चोकबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी जिल्लाको ईटहरी उपनगरपालिका ४ बस्ने २२ वर्षिय बिपिन क्षेत्री रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका क्षेत्रीलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उक्त लागूऔषध फेला पारेको हो । सशस्त्र प्रहरीले पक्राउलाई परेका क्षेत्रीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको छ ।