सेनाले दियो कम्बल र शैक्षिक सामग्री

0
Shares

जाजरकोट ।

जाजरकोटको भेरी नगरपालिका–११ कटिगाउँका ६५ विपन्न घर–परिवारलाई सोमबार नेपाली सेनाले कम्बल वितरण गरेको छ । भेरी नगरपालिका–११ का विपन्न परिवारलाई चिसोबाट जोगाउन सेनाले कम्बल तथा विद्यायलयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।

गरिबीको रेखामुनि रहेकालाई चिसोबाट बचाउन कम्बल वितरण गरिएको तथा शिवशंकर माध्यमिक विद्यालय जगतिपुरमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको नेपाली सेनाको चन्दननाथ गणले जनाएको छ । दलित बस्ती रहेको कटिगाउँका विपन्न नागरिकलाई बिहान–बेलुका छाक टार्न समस्या छ । उनीहरू हिउँद र वर्षायाममा भारतको कालापहाड गएर मजदुरी गर्ने गर्दछन् । त्यहाँको मजदुरीले परिवार पालनपोषण गर्दै आएका परिवार र विद्यालयमा अध्ययनरत विपन्न बालबालिकालाई शैक्षिक सामग्रीका साथै खेलकुद सामग्री वितरण गरेको नेपाली सेना चन्दननाथ गण जाजरकोटका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेले बताउनुभयो ।

शिवशंकर माध्यामिक विद्यालयका प्रधानाध्यापक रामलाल आचार्यले नेपाली सेनाले दिएका शैक्षिक तथा खेलकुदका सामग्रीले बालबालिकाको शिक्षण सिकाइ क्रियाकलाप तथा शारीरिक विकासमा सक्षमता बढ्ने बताउनुभयो । त्यस्तै, भेरी नगरपालिका–११ का वडाध्यक्ष लक्ष्मीप्रसाद जैसीले कोरोना भाइरसको तेस्रो लहरले जनजीवन प्रभावित बन्दै गएको अवस्थामा घर–आँगनमै पुगरे कम्बल र शैक्षिक सामग्री वितरण गरेकोमा सेनालाइ धन्यवाद दिनुभएको थियो । नेपाली सेनाले यसअघि पनि सामाजिक कार्य तथा दीनदुःखीलाई सहयोग गर्दै आएको थियो ।