जिल्ला अस्पतालमा फिभर क्लिनिक स्थापना

0
Shares

लमजुङ ।

कोभिड–१९ संक्रमणको तेस्रो लहर शुरु भएसँगै लमजुङ जिल्ला अस्पतालमा पुनः फिभर क्लिनिक स्थापना गरिएको छ । अस्पतालमा आएका बिरामीमा कोरोना संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि अस्थायीरूपमा क्लिनिक स्थापना गरिएको हो ।

पहिलो चरणमा अस्पतालमा आएका बिरामीलाई फिभर क्लिनिकबाट परीक्षण गरी थप उपचार शुरु गरिने अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार फिभर क्लिनिकसँगै अस्पतालमा कोभिड संक्रमितहरुका लागि होल्डिङ सेन्टर र कोभिड वार्डको व्यवस्थापन गरिएको छ ।

अस्पतालमा आएका बिरामी तथा बिरामीका सहयोगीहरुलाई रुघाखोकी लागे/नलागेका बारेमा सोधपुछ गरिने र फिभर क्लिनिकमा ज्वरो परीक्षण गरी कोभिडको शंका लागेमा तत्कालै कोभिड परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । कोभिड परीक्षणका क्रममा संक्रमण देखिएमा अलग्गै कोठामा राख्ने व्यवस्था गरिएको अस्पताल प्रमुख श्रेष्ठको कथन छ ।

कोभिड वार्डमा भर्ना भई बसेका संक्रमितलाई स्वास्थ्यकर्मीबाट रोगका लक्षण तथा जोखिमको अवस्थाबारेमा जानकारी दिनुको साथै सुरक्षित हुने तरिकाको बारेमा जानकारी गराउने गरेको उहाँले बताउनुभयो ।

जिल्ला अस्पतालको आइसोलेसनमा हाल दुई जनामात्रै कोरोना संक्रमित रहेका छन् । कोभिड संक्रमितमध्ये अवस्था गम्भीर भएका बिरामीलाई आइसोलेसनमा राखेर उपचार गर्ने व्यवस्थासमेत गरेको छ । सामान्य अवस्थाका संक्रमितहरुलाई सुरक्षाको मापदण्ड पालनागर्ने गरी होम आइसोलेसनमा पठाउने गरिएको छ ।