स्वास्थ्य सामग्री उचित मूल्यमा बिक्री गर्न संघको आग्रह

0
Shares

हेटौंडा, (नेस) ।

कोभिडको विपत्तिमा उपभोक्ता हितलाई केन्द्रमा राख्दै मास्क र सेनिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका सामग्रीको उचित मूल्यमा खरिद–बिक्री गर्न उद्योगी व्यवसायीलाई आग्रह गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

कोरोना कहरको विषम अवस्थामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने भन्दै उद्योग/व्यवसाय क्षेत्रले महामारीको समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै आएको विज्ञप्तिमा जनाइएको छ । खरिद–बिक्री बिल सुरक्षित राख्न अनुरोध गरेको मकवानपुर उद्योग वाणिज्य संघले सम्बन्धित निकायबाट हुने अनुगमनमा त्यस्ता गलत कार्य ठहर भए कारबाही हुने र सोको सम्पूर्ण जिम्मेवार उद्योगी/व्यवसायी स्वयं हुनुपर्ने भएकाले सचेत गराएको हो ।

विभिन्न राहतमूलक कार्यक्रम विगतका हरेक प्रकोप तथा राष्ट्रिय विपत्तिमा गरिँदै आएको उल्लेख गर्दै संघले उद्योग/व्यवसाय क्षेत्रले आर्थिक भौतिकलगायत सहयोग गर्ने भावना देखाउनु एकातर्फ प्रशंसनीय छ भने महामारीको समयमा कृत्रिम मूल्यवृद्धि हुन नदिन सचेत रहनुपर्ने त्यत्तिकै जरुरी रहेको औंल्याएको छ । कोरोना महामारीको समूल अन्त्य हालसम्म हुन नसकेको अवस्थामा धेरै लगानी र अनुसन्धानले कोभिडका विभिन्न भेरियन्टको विकासलाई रोक्न नसक्नु अनुसन्धान, प्रविधि र मानव जातिको विज्ञान चेतनामाथि गम्भीर प्रश्न चिह्न भएको दाबी विज्ञप्तिमा गरिएको छ ।

पछिल्लो समय कोभिडको ओमिक्रोन भेरियन्ट तीव्ररूपमा फैलिएको रिपोर्ट आइरहँदा मकवानपुरमा पनि ३ सयभन्दा बढीमा संक्रमण देखिएको रिपोर्ट छ । यस समय आतंकित हुनुभन्दा पनि सावधानीका सम्पूर्ण उपाय अपनाउनु ठीक देखिने विज्ञप्तिमा भनिएको छ ।‘महामारीबाट बच्न सबै सचेत, सतर्क र एकतावद्ध हुनु जरुरी छ । सोका लागि संघ सबैमा हार्दिक आह्वान गर्दछ ।’ –अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।