बैतडीवासी एक हप्तादेखि सञ्चारविहीन

0
Shares

बैतडी ।

चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति पुर्याउँदा यहाँका नागरिक एक हप्तादेखि सञ्चारविहीन भएका छन् । गत पुस २६ गते परेको चट्याङले दोगडाकेदारस्थित खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका टावरमा क्षति पुर्याएको थियो ।

नेपाल टेलिकमको टावरले काम नगर्दा सञ्चारको समस्या भएको हो । एक हप्तादेखि टेलिकमको नेटवर्क नआउँदा सञ्चारका लागि समस्या भएको स्थानीयबासीसमेत रहनुभएका नेकपा एमाले दोगडाकेदार गाउँपालिकाका अध्यक्ष काशीसिंह विष्टले जानकारी दिनुभयो । ‘एक हप्तादेखि सञ्चार सेवा अवरुद्ध छ’, उहाँले भन्नुभयो– ‘बैंकिङ लगायत अन्य कामबाट पनि वञ्चित हुनुपरेको छ ।’ नेपाल टेलिकम बैतडीलाई समस्या समाधानबारे जानकारी गराएको भए पनि हालसम्म पनि बन्न नसकेको विष्टको आरोप रहेको छ ।

यता नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमाटाले भने यहाँका विभिन्न टावरमा परेको चट्याङले क्षति पुर्याएकाले नेटवर्कमा समस्या आएको बताउनुभयो । खोचलेकमा रहेको टावरमा चट्याङले बढी क्षति गरेको र अन्यमा भने सामान्य क्षति पुगेको उहाँको भनाइ छ ।

‘धनगढीबाट प्राविधिकको टोली आएर मर्मतकार्य शुरू गरिसकेको छ’, उहाँले भन्नुभयो– ‘प्राविधिक टोली दुई दिनदेखि टावर मर्मतमै छ, आवश्यक केही सामान जिल्लामा उपलब्ध नभएकाले समस्या भएको हो, अबको एक÷दुई दिनमै समस्या समाधन हुन्छ ।’