सरकारी सेवा लिन माघ ७ देखि खोपकार्ड अनिवार्य

0
Shares

तनहुँ ।

कोरोना भाइरसको तेस्रो लहर (ओमिक्रोन) फैलिएसँगै तनहुँमा पनि अनिवार्यरूपमा खोपकार्ड देखाउनुपर्ने भएको छ । तनहुँका सरकारी कार्यालयबाट सेवा लिन अनिवार्यरूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा लिनका लागि खोपकार्ड अनिवार्य गरिने सूचना जनारी गरेको छ । गृह मन्त्रालयको निर्णयअनुसार गत पुस २९ गते जारी आदेशबमोजिम कार्यालय, होटल, रेस्टुराँ, सिनेमा हल, रंगशाला, हवाईयात्रा, उद्यानमा प्रवेश गर्दा अनिवार्य खोपकार्ड देखाउनुपर्ने सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो ।

सम्बन्धित सबै निकायले खोपकार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था भएकाले खोपकार्ड साथमा लिई तोकिएका स्थानमा प्रवेश गर्न जिल्लावासीलाई अनुरोध गरिएको गैरेले बताउनुभयो ।
प्रशासनले कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै सोको रोकथाम तथा नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन संकट व्यवस्थापन केन्द्रको सिफारिस एवं गृह मन्त्रालयको निर्णय, संक्रामक रोग ऐन–२०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन–२०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी आदेश जारी गरेको छ ।