म्याग्दीमा कन्दमूलको व्यापारमा कमी

0
Shares

म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीमा यस वर्ष पुसे पन्ध्र तथा माघे सङ्क्रान्ति जस्ता चाडपर्वमा कन्दमूलको उत्पादन तथा व्यापार घटेको छ । गत वर्ष अत्यधिक पानी पर्नु, किसानले कदमुल लगाउन छाड्नु र सिजनेबल मात्रै हुने भएकाले तरुल, सखरखण्ड र पिँडालुको उत्पादनमा कमी आएको हो । बिक्री गर्ने चिजहरूको उत्पादन नभएपछि माघे सङ्क्रान्तिमा अर्गानिक उत्पादनहरु तरुललगायत कन्दमूलको व्यापार घटेको व्यापारीहरूले बताएका छन् ।

विगतका वर्षहरूमा तरुल, सखरखण्ड र पिँडालुको व्यापार निकै हुन्थ्यो । सदरमुकाम बेनीबजारको चोक, चोकमा तरुल, सखरखण्ड र पिँडालु किन्ने ग्राहक तथा बेच्ने व्यापारीको भीड नै लाग्ने गरेको थियो । तर, यसपटक पुसेपन्ध्र र माघेसङ्क्रान्ति पर्वमा तरुल, सखरखण्ड तथा पिँडालु निकै कम मात्रामा बजार आएको छ । म्याग्दी जिल्लाको आफ्नै उत्पादन १० प्रतिशत मात्रै रहेको व्यापारीहरूको अनुमान छ भने अधिकांश उत्पादन म्याग्दी भन्दा बाहिर पोखरा, धादिङ, चितवनलगायत जिल्ला र ठूला सहरबाट बेनीमा आउने गरेको छ ।

अहिले वनतरुल प्रतिकेजी दुई सय ५०, घरको तरुल एक सय ५०, सखरखण्ड एक सय र पिँडालुको ८० रुपैयाँ बजार मूल्य तोकिएको छ । गत वर्ष करिब ३५ प्रतिशत मात्रै तरुलको बिक्री गरेको भए पनि यस वर्ष भने म्याग्दीको उत्पादन खासै बजारमा नआएको सुवेदी किराना तथा तरकारी फलफूल पसल बेनीका सञ्चालक देवेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

उहाँले बेनीका होलसेल पसलमा जिल्लाभन्दा बाहिरको तरकारीजन्य उत्पादन धेरै आउने गरेको बताउँदै पर्वत र पोखराबाट तरुल, सखरखण्डलगायत कन्दमूलहरू धेरै भित्रिएको बताउनुभयो । जरेबाली भएकाले तरुललगायत कन्दमूलको उत्पादनका लागि चाहिनेभन्दा पानी धेरै पर्नु तथा किसानले गहिरो र चिसो ठाउँमा लगाएको हुँदा उत्पादन घटेको कृषि प्राविधिकहरूको भनाइ छ ।

म्याग्दी जिल्लामा जडिबुटीलगायत अर्गानिक उत्पादनहरू प्रशस्तै हुने जमिन भए पनि उत्पादन हुन सकिरहेको छैन । पछिल्लो समय बारीलाई मासेर खेत बनाउने र त्यसमा धान खेती लगाउन थालेपछि तरुल, सखरखण्ड र पिँडालुको उत्पादन घट्दै गएको किसानहरूले अनुभव सुनाएका छन् ।

म्याग्दी जिल्लाको खबरा, बराङ्जा, तातोपानी, हिदी, पुलाचौर, तोरीपानी, काउलेगौंडा, राखुलगायत क्षेत्रमा कन्दमूल तथा तरकारीको उत्पादन हुँदै आएको छ । नेपालमा तीन प्रजातिका तरुल पाइन्छन् । तरुल, घर तरुल र वन तरुल हुन् । तरुल धेरैजसो उसिनेर खाइने भएकाले यसमा भएको पोषक तत्वहरू नष्ट हुँदैन । तरुललाई तागतिलोका साथै आडिलो खानेकुराको रूपमा पनि मानिन्छ ।