विमानस्थल स्तरोन्नतिका लागि अध्ययन शुरु

0
Shares

डोटी ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलको स्तरोन्नति हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मानस्थलको स्तरोन्नतीका लागि १८ करोड बजेट विनियोजन गर्नुभएसँगै विमानस्थल स्तरोन्नतिका लागि अध्यन गर्न टोली दिपायल आइपुगेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल वरपरको जग्गा अधिग्रहण गर्नुपर्ने जमिनको अवलोकन गरेको दिपायल विमानस्थलले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक रत्नबहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले दिपायल विमानस्थलको स्तरोन्नतिका लागि अध्यन गरिरहेको बताइएको छ । टोलीले यहाँका जनप्रतिनिधि, समाजसेवी, नागरिक समाज, सञ्चारकर्मीसँग विमानस्थलको स्तरोन्नतिका विषयमा राय सुझाब मागेको दिपायलका स्थानीयवासी भरत द्वारियाले बताउनुभयो ।

उहाँले भन्नुभयो–’मन्त्रीले बजेट बिनियोजन गर्नुभएसँगै विमानस्थल बिस्तारका लागि अध्यन टोली आएको छ, राय सुझाब मागेको छ, अब त ठूलो जहाज चल्छ कि खुसी लागेको छ ।’ विमानस्थल स्तरोन्नति तथा जग्गा अधिग्रहणसहित १८ करोड बजेट विनियोजन भएसँगै यो विमानस्थलमा ठूलो जहाज चल्नेमा यहाँका नागरिकहरू निकै खुसी भएका छन् ।

अनुगमनका लागि आउनुभएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक श्रेष्ठले दिपायल विमानस्थललाई थ्री सी वर्गको विमानस्थलका रूपमा स्तरोन्नति गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो–थ्री सी वर्गको विमानस्थलका रूपमा स्तरोन्नति गर्ने योजनाअनुसार काम अगाडि बढाउने योजना छ, उक्त काम सम्पन्न भए दिपायलमा ७२ सिटे जहाज उडाउन सकिनेछ ।

हाल दिपायल विमानस्थलको धावनमार्ग (रन–वे) जम्मा ४५० मिटर मात्र रहेकोमा स्तरोन्नतिका लागि एक हजार २ सय मिटर लम्बाइ चाहिने अध्यन अनुगमनमा आएको प्राविधिक टोलीले जनाएको छ । धावनमार्गको दुवैतर्फ गरी १५० मिटर चौडाइ आवश्यक पर्ने टोली सदस्य नलविक्रम थापाले जानकारी दिए । धावनमार्गको हालको चौडाइ जम्मा ६५ मिटर मात्रै रहेको बताइएको छ ।

हाल विमानस्थल रहेको बायाँतर्फको एयरपोर्ट बजार पूरै विस्थापित हुने तथा दक्षिणतर्फ घटाल मन्दिरको छेउ र उत्तरतर्फ वडा नं २ को कार्यालयको खोलासम्म अधिग्रहण गर्नुपर्ने प्रारम्भिक चरणमा देखिएको प्राविधिक टोलीले जानकारी दिएको छ । विमानस्थल स्तरोन्नतीका लागि आवश्यक पर्ने जमिन अधिग्रहणका लागि यहाँका नागरिकहरूले पनि सहमति दिएको दिपायल सिलगढी नगरपालिका–२ का वडाअध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो । उहाँले भन्नुभयो–‘विमानस्थल स्तरोन्नतिका लागि यहाँका स्थानीयवासी पनि सहमत भएका छन्, स्तरोन्नतिको काम चाडो गर्नुपर्छ ।’