मोडल अस्पतालमा अब अनलाइनबाट सेवा लिन सकिने

0
Shares

काठमाडौं (नेस) ।

काठमाडौं मोडल अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरूवात भएको छ । काठमाडौं मोडल अस्पतालमा नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा शुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो ।

यो सँगै अबदेखि काठमाडौंमा उपचार गर्न तथा डाक्टरसँगको परामर्शका लागि इसेवा मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेछ । अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपिडी सेवाहरू चुस्त बनाउने र बिरामीहरूको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ ।

बिरामीले घरबाटै अपोइन्टमेन्ट लिने र भुक्तानी गर्न सकिने हुँदा अस्पतालमा लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति पाउनुका साथै समयको समेत बचत हुनेछ । अहिलेको कोभिड–१९ को महामारीका बेला यो सेवाले अझ धेरै सहजता ल्याउनेछ ।

कोजेन्ट हेल्थ र इसेवाले अस्पतालहरूमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरू गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको संख्या बढ्दो छ । कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्णरूपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।

कोजेन्ट हेल्थ र इसेवाद्वारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्यजस्ता प्रविधिहरू नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरूमा प्रयोग भइरहेका छन् ।