टेलिकमको अफरै अफर

0
Shares

काठमाडौं (नेस) ।

नेपाल टेलिकमले भोलि (२०७८ माघ ३ गते) देखि लागू हुने गरी विन्टर अफर उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफर लाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो । अफरअन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ ।

पहिले २८ दिनका लागि ५९९ मा लिन सकिने “सजिलो अनलिमिटेड प्रिपेड ५९९” मात्र उपलब्ध भइरहेकोमा अब “सजिलो अनलिमिटेड प्रिपेड ७९९”, “सजिलो अनलिमिटेड प्रिपेड ९९९” र “सजिलो अनलिमिटेड प्रिपेड १४९९” प्याक समेत उपलब्ध हुने भएको छ ।

यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायका सेवाहरु उपलब्ध गराइएको छ । डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरूको मुख्य विशेषता हो ।

सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ । यस अन्तर्गत २९९ मा अब २८ दिनसम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटासमेत चलाउन सकिनेछ ।

यसैगरी, नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहने टेलकमले जनाएको छ । पहिलोपटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १ सय मिनेट अन–नेट कलको सुविधा पाउने छन् । साथै, फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रूपमा लिन सकिने बेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ ।