लमजुङमा बुधवार देखी कोरोना विरुद्ध बुस्टर डोज खोप दिइने

0
Shares

लमजुङ ।

लमजुङमा बुधवार देखी कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाइने भएको छ । कोभिड १९ खोप जिल्ला समन्वय समितिको निर्णय अनुसार भोलि बुधवारदेखि कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि अग्र पङ्क्तिमा खटिएका व्यक्तिहरूलाई बुस्टर डोज दिइने भएको हो ।

जिल्लाका आठ वटै स्थानीय तहमा कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्नेहरूलाई बुस्टर डोज खोप दिइने स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । खोप लगाएको ६ महिना पुगेका अग्रपङ्क्तिमा खटिने सबैले नजिकको खोप केन्द्रबाट बुस्टर डोज लिन सक्नेछन् । सबै स्थानीय तहका वडा वडामा रहेका स्वास्थ्य संस्थामा खोप केन्द्र कायम गरी खोप सेवा प्रदान गरिने भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी, जनप्रतिनिधिहरू, सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर सङ्कलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविकाहरूले बुस्टर डोज पाउनेछन् । यस्तै सार्वजनिक क्षेत्र सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने सङ्घसंस्था, बैंकिङ्ग सेवा, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि बुस्टर डोज दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसै गरी ६० वर्षमाथिका ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई समेत बुस्टर डोज खोप लगाइने भएको छ ।  रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामीहरू रहेका छन् ।

गम्भीर वा मध्य रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूले खोप लगाउन जाँदा २ मात्रा खोप लगाएको खोप कार्ड र उपचार पुर्जा अनिवार्य देखाउनुपर्ने र अन्यलाई भने दुई मात्रा खोप लगाएको खोप कार्डको आधारमा बुस्टर डोज दिइने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताउनुभयो ।

पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो, बुस्टर डोजमा पनि त्यही खोप लगाइने भएकाले जिल्ला स्वास्थ्य कार्यालयले खोप कार्ड अनिवार्य लिएर खोप केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ । बुस्टर डोज दोस्रो मात्रा खोप लगाएको ६ महिना पुरा भएकालाई मात्र दिन लागिएको हो ।