स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्न माग

0
Shares

काठमाडौं ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै तीनवटै संस्थाले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल शुरु गर्न भनेका हुन् । समयमै निर्वाचन नभए पालिका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्षले गर्दै आइरहेका सिफारिस लगायतका कामहरु अवरुद्ध हुने र त्यसले लोकतन्त्र र संघीय शासन प्रणालीप्रति नै नकारात्मक प्रभाव पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

संविधानले नै जनप्रतिनिधि विनाको स्थानीय सभा र कार्यपालिकाको व्यवस्था नगरेको र म्याद थपको पनि व्यवस्था नगरेकाले समयमै निर्वाचन गर्नुको विकल्प नरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । निर्वाचन आयोगले आगामी वैशाखभित्र निर्वाचन गर्ने गरी सुझाव दिएको छ । तर, सरकारले निर्वाचनको मिति तोकेको छैन । यही बेला तीनवटै संस्थाले विज्ञप्ति निकालेर सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘संविधान र विद्यमान कानुनअनुसार स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र अनिवार्य रूपमा गरिसक्नुपर्नेछ ।’ –विज्ञप्तिमा उल्लेख छ ।
यसअघि आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको आगामी निर्वाचन सम्बन्धमा भएका संवैधानिक तथा कानुनी व्यवस्था आधारमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरेको थियो ।

आयोगले एकै चरणमा निर्वाचन गर्ने भए २०७९ वैशाख १४ गते बुधबार, एकै चरणमा निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण वैशाख १४ गते बुधबार र दोस्रो चरण २०७९ वैशाख २२ गते बिहीबार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने भनी प्रस्ताव गरिएको थियो ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीको ५ वर्षे पदावधि २०७९ साल जेठ ५ गते समाप्त हुने पनि आयोगले जनाएको छ ।स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कम्तीमा ५३ क्रियाकलाप सम्पन्न गर्नुपर्ने हुँदा यसका लागि कानुनतः १ सय २० दिन आवश्यक पर्ने भएकाले यही २०७८ माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति तोक्नुपर्ने विषयमा दलहरुसँग आयोगले छलफल गरेको थियो ।