‘बुस्टर मात्रा’ अभियान शुरू

खोप केन्द्रमा भनाभन

0
Shares

काठमाडौं ।

सोमबार अधिकांश खोप केन्द्रमा कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा लगाउनेको भीडभाड थियो । सरकारले देशैभरका अग्रपंक्तिमा खटिएकालाई बुस्टर मात्रा लगाउने निर्णय गरेसँगै हिजोबाट अभियान शुरु भएको थियो । तर, अस्पतालका सुरक्षाकर्मीको व्यवहार र रुखो बोलीका कारण खोप केन्द्रमा भनाभनसमेत भएको थियो । विशेष गरी बानेश्वरको सिभिल अस्पतालमा खटिएका अस्पतालका सुरक्षाकर्मीको बोलीका कारण खोप लगाउन जाने र सुरक्षाकर्मीबीच पटक–पटक भनाभन भएको थियो ।

कार्डसहित अस्पताल पुगेका अग्रपंक्तिमा खटिनेहरूले खोपका बारेमा जानकारी माग्दा उनीहरूको रुखो जवाफ थियो– ‘बिहान ५ बजे आउनुस्, टोकन लिनुस्, अनि लाइनमा बसेर खोप लगाउनुस् । उनीहरूले अनलाइनबाट फारम भरेपछि मात्र कुरा गर्न आउनुस् भनेर छुच्चो व्यवहार प्रदर्शनसमेत गरे ।

स्वास्थ्य कार्यालयले सबै अस्पतालबाट सजिलै खोप लगाउन सकिने सूचना दिएको थियो । तर, सोमबार दिनैभरि यस्तो गुनासो सुनिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख काफ्लेले बताउनुभयो । उहाँले अधिकांश सबै खोप केन्द्रमा यस्तै अवस्था देखिएको तर बढी गुनासो सिभिल अस्पतालको आएको बताउनुभयो । उहाँले विद्यार्थी लक्षित अभियानका कारण केही समस्या आएको बताउँदै भन्नुभयो– ‘कर्मचारी अभावका कारण समस्या आएको हो । माघ ५ गतेपछि समस्या समाधान भएर सबैले सजिलै खोप पाउनेछन् ।’ कार्यालय प्रमुख काफ्लेले राजधानीमा १२ देखि १७ वर्ष उमेरका लागि खोप अभियान सकिएपछि यस्तो समस्या अन्त्य हुने बताउनुभयो । काठमाडौं स्वास्थ्य कार्यालयले आठवटा सरकारी अस्पताल र नाकासहित नौवटा निजी अस्पतालबाट गरी १७ स्थानबाट खोप दिइएको जनाएको छ । ती १७ खोप केन्द्रहरूमा नेपाली सेनाको अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शिक्षण, वीर, परोपकार, प्रसूति, शुक्रराज ट्रपिकल, सिभिल, सुभेक्षा अस्पताल, जनमैत्री, पिपुल्स डेन्टल कलेज ,नर्भिक, नोभेल, बयोधा, शहीद मेमोरियल, एपेक्स पोलिक्लिनिक र लोट्से भवन नयाँ बसपार्क रहेका छन् ।

सरकारले दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा गरेकालाई मात्रै बुस्टर मात्रा दिने व्यवस्था गरेको छ । बुस्टर मात्रा लगाउन यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानुपर्नेछ । यस्तै, आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ । पहिला जुन खोप लगाइएको थियो बुस्टर पनि सोही खोपको लगाउन सरकारले आग्रह गरेको छ ।