पशुपति धर्मशालाको सम्झौता रद्द गर्न सिफारिस

0
Shares

काठमाडौं ।

नेपाल–भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि गठन गरिएको समितिले धर्मशालामा सम्झौताविपरीत काम भएकाले उक्त सम्झौता रद्द गर्न सिफारिस गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नेपाल–भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि गठन गरिएको समितिले सोमबार पेस गरेको प्रतिवेदनमा उक्त सिफारिस गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गठन भएको समितिले उक्त प्रतिवेदन पेस गरेको हो । मन्त्री आले उक्त कोषका अध्यक्ष भए पनि उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई समितिका संयोजक सुवेदीले उक्त प्रतिवेदन बुझाउनुभएको थियो । समितिले बुझाएको प्रतिवेदनमा नेपाल–भारत पशुपति मैत्री धर्मशालामा सम्झौताविपरीत काम भएकाले उक्त सम्झौता रद्द गर्नुपर्ने उल्लेख गरिएको छ । धर्मशाला कसैलाइ टेन्डर दिने भन्ने पहिले नै प्लानिङ गरी सूचना प्रकाशन गरिएको समितिको आशंका रहेको समितिका संयोजक सुवेदीले बताउनुभयो ।

‘धर्मशालाका विषयमा थुप्रै कमी–कमजोरी भएका देखिएका छन्, सेटिङका आधारमा काम भएको समितिको ठहर छ, त्यसैले यो रद्द हुनुपर्छ ।’ –उहाँले भन्नुभयो । यसै गरी, धर्मशाला गहना पसल, गाडीको सोरुम राखिएका र मनपरी मूल्य लिइँदै आएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त समितिका सदस्यमा परिषद्का सदस्य आशा पाण्डे, विश्वकरण जयन तथा देवीप्रसाद बराल रहनुभएको थियो भने मन्त्रालयका लेखाका उपसचिब सदस्य रहनुभएको थियो ।
धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटल आनन्द प्रालि (बतास समूह) लाई भाडामा दिएको थियो । उक्त समूहले पशुपति मैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवं धार्मिक पर्यटकसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ ।