रारा विमानस्थलमा नियमित रूपमा हवाइ उडान सुचारु


वीर बहादुर बम,मुगु ।

हिमाली जिल्ला मुगुको रारा विमानस्थलमा एक साता अघिदेखि नियमित रूपमा हवाई उडान सुचारुमा आउन थालेका छन् । पुस महिनाको हिमपातले गर्दा हवाई उडानमा प्रभावित पारेको थियो भने केही हप्तापछि मौसममा सुधार आए लगत्तै मुगुमा हाल समिट, तारा, नेपाल एयरलाइन्सले नियमित रूपमा हवाई उडान भरेका हुन् ।

एक साता बढीसम्म रारा विमानस्थलमा हवाई जहाजले उडान नभर्दा यात्रु मर्कामा पर्ने गरेका थिए । लगातार परेको बाक्लो हिमपातले सडक र हवाई यातायात अवरुद्ध भएको थियो ।रारा विमानस्थलबाट मुगुदेखि नेपालगन्जसम्म जाने र नेपालगन्जदेखि मुगुसम्म हवाई जहाजहरूले नियमित रूपमा उडान भरेको कर्णाली टुर एन्ड ट्राभल्स मुगुका इन्चार्ज डिवी मल्लले बताए ।

हिमपातले मुगु र जुम्लाको सिमानामा पर्ने घुच्ची लेकमा बाक्लो हिमपात पर्दा डोजर लगाएर पनि सडक सुचारुमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए । मुगुमा पछिल्लो समय मौसममा सुधार हुँदै आइरहेको छ ।जसका कारण मुगुमा रारा विमानस्थलमा हवाई उडान नियमित भयपछि यात्रुले धेरै दिनको पालो परखेर यात्रा गर्नुपर्ने टन्टा भने हटेर गएको छ ।

भाडा दरमा समेत बिचौलियाले बढी लिने नभई ६ हजार ५ सय को टिकट दर फिक्स भई यात्रुले भाडा बढी तिर्नु पर्ने समस्या समेत हटेर गएको छ ।जहाजको भरपर्दो सेवाले रारा घुम्नेको बाहिरी जिल्ला बाट लर्को नै लाग्ने गरेको र होटल ब्यवसाय पनि फस्टाएको रारा विमानस्थलका पर्यटन व्यवसायी तिलक मल्लले बत्ताए ।