प्रदेश २ को प्रदेशसभा बैठक बस्दै, नाम र राजधानी तोक्न आज मतदान


न्युज अफ नेपाल, काठमाडौं ।

आज (सोमबार) बिहान ११ प्रदेशसभा बैठक बस्दैछ । राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन मतदान हुनेछ।

नाम र राजधानीमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा गठित संसदीय समितिले प्रदेशको नाम ४ वटा र राजधानीको नाममा ३ वटा पेस गरेपछि प्रदेशको नाम र राजधानी मतदानबाट टुङ्गो लगाउन लागिएको हो ।

प्रदेशसभाको आइतबार बसेको बैठकमा दलका सांसदहरूले आ–आफ्नै अडान दोहोर्‍याएपछि नाम र राजधानी टुंग्याउन मतदान हुने भएको हो । आइतबारको बैठकमा प्रदेशसभा सांसदहरू बोल्ने क्रम नसकिएकाले सोमबार ११ बजे फेरि संसद् बैठक डाकिएको हो । सोमबार सांसदको बोल्ने क्रम सकिएपछि नाम र राजधानीको छिनोफानो गर्न मतदानको समय तोकिने प्रदेशसभा संसद् सचिवालयले जनाएको छ ।

सभामुख नेतृत्वको संसदीय समितिले प्रदेशको नाम मधेस, जानकी, मिथिला–भोजपुरा र मध्य मधेस तथा राजधानी जनकपुरसहित उत्तरपूर्वमा ढल्केवर–कमला हुँदै दक्षिणमा नेपालको सीमासम्म, वीरगन्ज महानगरपालिका र वीरगन्ज, सिमरा जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल समेटिएको छ ।

प्रदेश २ मा हाल जसपा, कांग्रेस, माओवादी (केन्द्र)र नेकपा (एकीकृत समाजवादी)को संयुक्त सरकार छ । प्रदेशसभाका १ सय ७ सांसदमध्ये माओवादीले ४ सांसदलाई कारबाही गरेपछि हाल १ सय ४ सांसद छन् । प्रदेशको नाम र राजधानी टुंग्याउन दुई तिहाइ मत अनिवार्य छ ।