संग्रहालयको दुरुपयोग गर्नेलाई कारबाही हुन्छ: मन्त्री आले


विमल विष्ट, काठमाडौं । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनपरी ढङ्गबाट प्रयोग गर्नेलाई कारबाही गरिने बताउनुभएको छ । आइतबार नारायणहिटी दरबार संग्रहालयमा बतास समूहले निर्माण गरेका भौतिक संरचनाको निरीक्षण अवलोकन पश्चात् सो बताउनुभएको हो ।

संग्रहालयभित्र रेस्टुरेन्टलगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा गलत देखिएका विषयमा कानुनबमोजिम कारबाही हुने मन्त्री अलेको भनाइ छ । ‘रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा थुप्रै कमी–कमजोरी, गल्ती गरेको र आफूखुसी भवन निर्माण गरेको पाइएको छ’, उहाँले भन्नुभयो– ‘नियमविपरीत काम गर्न दिने र काम गर्नेलाई कारबाही हुन्छ ।’ ‘कफी सपका नाममा संग्रहालयको नामनिसाना मेटिने गरी भवन निर्माण भउको छ’, मन्त्री आले थप भन्नुहुन्छ– ‘संग्रहालयभित्र नाचघर तथा वाइन सपका लागि पनि भवन बनाउँदै गरेको पाइयो, दोषी ठहरिने सबैलाई कानुनबमोजिम कारबाही हुन्छ ।’

संग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न बतास समूहलाई दिने निर्णयपछि उक्त समूहले आधिकारिक निकायबाट नक्सापास नगरी एवं निर्माण स्वीकृति नलिई काम गरेको पाइएको छ । मन्त्रालय एवं विकास समितिको पनि पूर्वस्वीकृति नलिई अनुमानित १४ रोपनी क्षेत्रफल रहेको जग्गामा थप नयाँ संरचना निर्माण भइरहेको थियो ।

दरबार संग्रहालयभित्र रेस्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने निर्णयका बारेमा गठन गरिएको छानबिन समितिले क्यान्टिन-क्याफेटेरिया सञ्चालन गर्नका लागि प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमाङ्कन नभएको, बढी क्षेत्र ओगटी थप निर्माण कार्य गर्न प्रोत्साहन भएको उल्लेख गरी आफ्नो प्रतिबेदन पेस गरेपछि दोषी ठहरिएकालाई कारबाहीका लागि मन्त्रालयलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रहरी प्रधान कार्यालयमा समेत पत्रचार गरेको छ ।

मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम रोक्न नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई गएको पुस २० गते निर्देशन दिनुभएको थियो । समितिले संग्रहालयको १० रोपनी जमिनमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न बतास कम्पनीसँग सम्झौता गरेको थियो ।पुरातात्वक क्षेत्र मानिएको नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट बन्दै गरेको समाचार बाहिरिएपछि चौतर्फी आलोचना हुँदै आएको छ ।