भगवती लेमिनेट्सको कर छली प्रकरण : व्यक्तिगत नाममा चेक काट्ने डिलरविरुद्ध कारबाही हुने



नेपाल समाचारपत्र, काठमाडौं ।

भगवती लेमिनेट्स प्रालिका नामबाट प्लाइउडको व्यापार गर्ने उद्योगले नक्कली बिल बनाएर करोडौं राजस्व छलेको थप प्रमाण फेला परेको छ । सुरज फर्निचर उद्योगले भगवती लेमिनेट्सलाई प्लाइउडको भुक्तानी संस्थागत रूपमा नगरी त्यसका कन्ट्री म्यानेजर विकास सिंहका नाममा बारम्बार व्यक्तिगत चेक काटेर भुक्तान गरी राजस्व छलेको प्रमाण नेपाल समाचारपत्रलाई प्राप्त भएको छ ।

‘विकास सिंह हाम्रा साथी हुन्, साथीभाइमा ऋणपान चलिहाल्छ, ऋणको भुक्तानी गरिएको हो’, सुरज फर्निचर उद्योगका सिराज शिवाकोटीले सफाइ दिने प्रयास गर्नुभयो– ‘तर, यो दुई वर्षअघिको कुरा होला, हामीले भगवती लेमिनेट्ससँग काम गर्न छोडेको धेरै भइसक्यो । उहाँले कारोबार चलेका बेला मात्र ‘सरसापट’ चलाइएको परोक्ष रूपमा स्वीकार गर्नुभयो । अर्कातिर नेपाल समाचारपत्रलाई प्राप्त भुक्तानी चेक यही २०७८ सालको मंसिर र पुस महिनाको छ भन्दा उहाँ नाजवाफ हुनुभयो ।

सुरज फर्निचर उद्योगको मालिक रवीन्द्र ठाकुर भएको र आफू कर्मचारी मात्र रहेको बताउने शिवाकोटीले आफ्नो हातबाट त्यसरी चेक काट्ने काम नभएको तर साहु ठाकुरले काटेको भए आफूलाई जानकारी नभएको भनाइ राख्नुभयो । उहाँले दुई वर्षदेखि भगवती लेमिनेट्ससँग कारोबार नभएको कारणमा ‘कोभिड महामारी’ लाई अघि सार्नुभयो ।

नेपाल समाचारपत्रलाई प्राप्त प्रमाणका आधारमा भगवती लेमिनेट्सले राजस्व तथा कर ठग्ने प्रयोजनले कच्चा र पक्का बिल प्रयोग गर्दछ । ‘पक्का बिल’ न्यून परिमाणको हुन्छ जो संस्थाका नाममा भुक्तानी हुन्छ भने सही अंकको ‘कच्चा बिल’ ले देखाउने फरक रकम ‘सापटी भुक्तानी’ भन्दै डिलरहरुले भुक्तानी गर्दछन् ।

सिराज शिवाकोटीजस्ता डिलरहरुले संस्थागत भुक्तानी गर्न खोज्दा ‘कर कार्यालयसँग डराउनुपर्दैन, १ करोडभन्दा बढी रकम दिएर हामीले कर्मचारीहरूलाई पालेका छौं, सबै बिकाउ छन्’ भन्ने जवाफ दिएर व्यक्तिकै नाममा चेक बनाउन लगाइन्छ ।
वास्तवमा भगवती लेमिनेट्सले कर तथा राजस्वबाट बच्ने आफ्नो गलत स्वार्थका लागि सयौं डिलरलाई पनि दाउमा लगाएको छ । किनभने उनीहरुले कर छल्न भगवती लेमिनेट्सलाई सघाइरहेका छन् ।]

आन्तरिक राजस्व विभागले कारबाही चलाउँदा रवीन्द्र ठाकुर वा सिराज शिवाकोटीजस्ता व्यक्तिहरु पनि जेल पर्ने अवस्था आउन सक्छ । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणको प्रावधानअनुसार कारबाही चलाउन सक्छ । विकास सिंह र सुरज फर्निचर उद्योगको दुई/तीन सालको बैंक खाता हेर्नासाथ दुवै फस्ने निश्चित छ ।

‘साथीको नाताले सरसापट चलाएको’ तर्कलाई राजस्व विभागले मान्ने आधारहरु अब सकिएका छन् । किनभने भगवती लेमिनेट्सले सयौं फर्निचर उद्योगलाई पहिला मोटो रकम ऋण दिएकै थियो भनेर मान्ने हो भने त्यो पनि बैंक खाताले प्रमाणित गर्नुपर्छ । एकोहोरो डिलरले ऋणमात्र तिरिरहने तर ऋण लिएको विवरण भने बैंक खातामा नदेखिने हुन सक्तैन ।

भगवती लेमिनेट्सले यही तरिका अपनाएर करोडौं राजस्व छलेको देखिन्छ । वास्तविक कारोबारका लागि ‘कच्चा बिल’ प्रयोग गर्ने र भ्याटका लागि ‘पक्का बिल’ प्रयोग गर्ने गरिएको प्रमाण सार्वजनिक भइसकेको छ । मेचीनगर–१० झापास्थित केन्द्रीय कार्यालय रहेको भगवती लेमिनेट्सका कन्ट्री मेनेजर विकास सिंह भने काठमाडौंस्थित कार्यालयमै बसेर कारोबार चलाइरहनुभएको छ । सिंहलाई आइतबार बारम्बार फोन सम्पर्क गरेर प्रतिक्रिया लिन खोज्दा उहाँले पहिला प्रश्न सुनेर बीचमै फोन काटिदिनुभयो र पछि फोन नै उठाउनुभएन ।

नेपाल समाचारपत्रलाई प्रमाणसहित प्राप्त जानकारीअनुसार उद्योगले सबैजसो कारोबार अन्डर इनभ्वाइसमै गर्ने गर्दछ । खास गरी यसो गर्नुको अर्थ मूल्य अभिवृद्धि कर (भ्याट) बाट बच्नु नै हो । ‘पक्का बिल’ भनिने कम मूल्य राखेर काटिएको बिल सरकारलाई देखाउनका लागि र भित्रभित्रै कारोबार हुने कच्चा बिल बास्तविक कारोबारका लागि हो । यसरी कच्चा बिलको भुक्तानी गर्दा बैंकको चेकमा ‘सापटी भुक्तानी’ आदि लेख्ने गरिएको छ ।

मूल्य न्यून देखाएर भ्याट छल्ने एक प्रकारको विधि हो भने उत्पादित वस्तु नै अर्को उल्लेख गरेर पनि ठगी गरिन्छ । जस्तो, भगवती लेमिनेट्सले ‘ए’, ‘बी’ र ‘सी’ स्तरका प्लाइउड उत्पादन गर्दछ । सबैभन्दा राम्रो ‘ए’ ग्रेडको सामान बेच्दा ‘बी’ ग्रेड उल्लेख गर्दछ भने ‘बी’ ग्रेड बेच्दा ‘सी’ उल्लेख गर्दछ ।

‘उदाहरणका लागि १० लाखको प्लाइउड बेच्दा १ लाख ३० हजार भ्याट दिर्नुपर्छ, तर पक्का बिलमा ५ लाख मात्र देखाउँदा ६५ हजार रुपियाँ ठग्न पाइयो’, समाचार स्रोत भन्छ– तर, पैसा उठाउन चाहिँ ११ लाख ३० हजार नै उठाइन्छ, परिवारका सदस्य, स्टाफ आदिका नाममा सापटी भनेर चेक काटिन्छ ।

नेपालमा नियतवश कर छली गर्ने व्यक्तिविरुद्ध कडा कानुन छ । नक्कली बिल वा अन्डर इनभ्वाइस गरी कर छले ठगिएको रकममा शतप्रतिशत जरिवाना र ६ महिनाको जेल सजाय हुने कानुनी व्यवस्था छ ।

यो पनि…

भगवती लेमिनेट्सको फन्दामा डिलरहरू

प्रतिक्रिया दिनुहोस्