विश्वकै लामो र अग्लो सकाई साइक्लिङ सुरु 


पर्वत  । 

साहसिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको पर्वतको कुस्मा र काली गण्डकीको खोँचमा फेरी विश्वकै सबैभन्दा लामो र अग्लो सकाई साइक्लिङ सुरु भएको छ ।

काली गण्डकी नदीमाथिको तारे भीरमा डोरीको सहायतामा साइकल चलाउने खेल (सकाई साइक्लिङ) व्यावसायिक रूपमा सुरु भएको हो । द क्लिप प्रालिले सकाई साइक्लिङ सुरु गरेको हो । भीरै भीर साइकल चलाउने यो खेल साहसिक पर्यटनका लागि अर्को स्वादको रूपमा  सञ्चालन गरिएको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो । उहाँले यो विश्वकै सबैभन्दा लामो र अग्लो स्काईक्लिङ भएको दाबी पनि गर्नुभयो ।

चार वर्ष पहिलेदेखि नै सञ्चालनमा रहेको साइक्लिङ कोरोनाका कारण रोकिएको थियो । अहिले कोरोनाको महामारीकै बिच स्वास्थ्य मापदण्डको पालना गरेर साइक्लिङ सुरु गरिएको कम्पनीले जानकारी दिएको छ । अध्यक्ष कार्कीका अनुसार साइक्लिङ गर्ने डोरी दुईतर्फी गरेर ६०० मिटर छ । साइक्लिङका लागि प्रतिव्यक्ति शुल्क ३ हजार ५०० रुपैयाँ रहेको छ । सञ्चालन शुभारम्भको अवसरमा यसमा हजार रुपैयाँ छूट दिइएको छ । उक्त स्थानमा बन्जी वा स्विङ गर्नेलाई अतिरिक्त २० प्रतिशत पनि छूट दिइएको बताइएको छ ।

साहसिक खेलप्रति पछिल्लो समय युवाको आकर्षण बढेकाले सकाई साइक्लिङ थपिएको कम्पनीका निर्देशक नेत्र पराजुलीले बताए । क्लिपले सञ्चालन गरेको विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालनमा ल्याएको छ । विश्वकै एक मात्र स्काईचेयर समेत सञ्चालनमा छ । द क्लिपले निर्माण गरेका पर्यटकीय संरचनामा आन्तरिक र बाह्य पर्यटकको ठुलो आकर्षण देखिएको छ । बागलुङको बेवालतर्फ २६ रोपनी जग्गामा रिसोर्टसहितका संरचना निर्माण भएका छन् । काली गण्डकीमाथि पर्वतको कुस्मा जोड्ने गरी अलग प्रकृतिको झोलुंगे पुल निर्माण भएको छ । पर्वततर्फ रहेको तीन आना जग्गामा जोडिएको झोलुंगे पुलको बलेवा र कुस्माको पर्यटन व्यवसायमा टेवा पु-याएको छ ।

क्लिपका संरचना नजिकै कुस्माका व्यवसायीको सक्रियतामा जिलाइन समेत सञ्चालनमा छ । एक वर्षअघि निर्माण सुरु भएको जिलाइनको काम सकिएर सञ्चालनमा आएको छ । काली गण्डकी नदी साहसिक पर्यटनको हब भएको बलेवाका स्थानीयवासी भरत पौडेल बताउँनुहुन्छ । आन्तरिक जस्तै विदेशी पर्यटकलाई समेत आकर्षण गर्न सके बलेवा र कुस्माका लागि यहाँको पर्यटन आर्थिक उन्नयनको स्रोत बन्ने उहाँको बुझाइ छ ।