काठमाडौं ।
माघे संक्रान्तिका दिन नेपालका विभिन्न तीर्थ तथा धार्मिक स्थलमा लाग्ने गरेको मेला–महोत्सव कोरोना कहरका कारण प्रभावित भएको छ । नेपाल सरकार तथा तथा स्थानीय प्रशासनले मेला–महोत्सवमा रोक लगाएका कारण मेला प्रभावित भएको हो । शुरूमा प्रसिद्ध तीर्थस्थल देवघाटधाममा माघे संक्रान्ति पर्वमा स्नानका लागि आएका भक्तजनलाई प्रवेश गर्न दिइएको थिएन । शनिबार बिहान ८:३० बजेपछि पैदल यात्री भक्तजनलाई मात्र प्रवेश दिइएको थियो ।
कोरोना संक्रमणका कारण देवघाटमा बाहिरी जिल्लाबाट आउने व्यक्तिलाई प्रवेश निषेध गर्ने भनिए पनि पैदलयात्रामार्फत आउनेलाई प्रवेश गर्न दिइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनुभयो । निकै कम मात्र भक्तजनलाई प्रवेश दिइएको उहाँले बताउनुभयो । ‘कोरोना जोखिम रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर स्नान गर्न अनुरोध गर्यौं’, घिमिरेले भन्नुभयो– ‘सवारीसाधनलाई भने देवघाट प्रवेशमा रोक लागइएको छ ।’
तनहुँ र चितवनतर्फ गरी करिब ५ हजार भक्तजनले स्नान गरेको अनुमान गरिएको छ । ५ लाखभन्दा बढी भक्तजन आउने मकर संक्रान्तिमा ५ हजार निकै कम संख्या हो । देवघाट गाउँपालिका–५ स्थित त्रिशूली नदी र कालीगण्डकी नदीको संगम त्रिवेणीमा शुक्रबार बिहान बाँसको लिंगो गाडेर माघे संक्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । माघे संक्रान्तिमा देवघाटमा हुने मेला नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध मानिन्छ । गोसाइँकुण्डबाट बगेको त्रिशूली र दामोदर कुण्डबाट बगेको कालीगण्डकीको संगम देवघाटको वेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुने विश्वास रहेको छ ।
अनौपचारिक मेला
कोरोनाका कारण रूरू (रिडी) क्षेत्रको मकर मेला प्रभावित बनेको छ । यद्यपि मकर अर्थात् माघे संक्रान्तिको अवसरमा भक्तजनहरुले सावधानी अपनाउँदै अनौपचारिकरूपमा पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रूरू क्षेत्र रिडीमा धार्मिक कर्म गरेका छन् । विगतका वर्षमा उल्लासमय वातावरणमा धार्मिक कर्मका साथै व्यापारिक गतिविधि र मेला महोत्सवसमेत आयोजना हुने गरेको थियो । यसपालि कोरोना महामारीका कारण अनौपचारिकरूपमा मात्र पर्व मनाइएको हो । माघे संक्रान्तिको अवसरमा परम्परादेखि नै कालीगण्डकी रूरू क्षेत्रधाम रिडीमा जेठी, माइली र कान्छी संक्रान्तिका रूपमा धार्मिक मेला लाग्ने परम्परा छ ।
ऋषिकेश्वर मन्दिर रूरूधाम रिडी धार्मिक मेलामा भक्तजनको न्यून उपस्थितिमा धार्मिक कर्म भएको थियो । कोरोना महामारीका कारण कुनै पनि औपचारिक कार्यक्रम नहुँदा गत वर्षको तुलनामा न्यून संख्यामा भक्तजनको उपस्थिति रिडी मेलामा देखिएको स्थानीयले बताएका छन् ।रिडीमा बिहीबार बिहानैदेखि स्नान गर्नेहरु कम देखिएका थिए । स्थानीय प्रशासनले कोरोनाका कारण देखाउँदै २५ जनाभन्दा बढी भेला हुन रोक लगाएका कारण रिडी मेलामा भक्तजनहरुको कमी देखिएको हो । यद्यपि कालीगण्डकी नदीमा नुहाउन आउनेहरुलाई प्रहरीले मास्क अनिवार्य गरेको थियो । यस वर्ष रिडीमा नुहाउनकै बाहिरी जिल्लाबाट आउने कम भएका छन् । पाल्पा, गुल्मी, स्याङ्जा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, कास्की तथा अन्य जिल्लाबाट भक्तजनहरु स्नान गर्नका लागि आउने गर्दथे । यसपटक जिल्ला भित्रै र बाहिरबाट पनि कोरोनाको त्रासका कारण निकै कम भक्तजन आएका थिए भने मनोरञ्जनात्मक अन्य कार्यक्रम पनि भएनन् ।
माघे संक्रान्तीको अवसरमा कालीगण्डकीमा स्नान गर्नाले अन्जानमा गरेका सम्पूर्ण पाप नाश हुने, मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास रहेको पाइन्छ । पाल्पा, गुल्मी, अर्घाखाची, स्याङ्जा, रुपन्देही जिल्लाबाट रूरू क्षेत्र रिडीमा कालीगण्डकी स्नान गरी भगवान्को दर्शन गर्न जाने परम्परा नै रहेको छ । रूरू नेपालको चार धाममध्ये एक भएकाले यसको विशेष धार्मिक महत्व रहेको छ ।
विगतका वर्षहरु जस्तै धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पाबाट, मनाङ, मुस्ताङबाट काम्लो, कम्मल, राडी, पाखी, बासबाट उत्पादित विभिन्न किसिमका डाला, पाथी, काइयो लगायतका घरेलु सरसमान बिक्रीका लागि यस क्षेत्रमा आउने गर्दथे । भक्तजनहरुको चहल पहलमा कमी भएकाले रिडी बगरमा बसेका राडीपाखी व्यापारी भने चिन्तित भएका छन् । धार्मिक मेलामा गुल्मीको गुड, पाल्पाको सुन्तला बिक्रीका लागि राखिएको छ । तर, व्यापार पनि निकै कम भएको सम्बन्धित व्यापारीको भनाइ छ ।
मकर मेला प्रारम्भ
बाह्रवर्षे तीर्थयात्राका रूपमा लाग्ने पनौतीको एकमहिने मकर मेला कोरोना भाइरसका बाबजुद माघ १ गतेदेखि शुरू भएको छ । स्वास्थ्य सुरक्षा मापदण्डविपरीत सहभागीले अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड नअपनाई मेलामा सहभागी भइरहेका छन् । स्थानीय प्रशासनले मेलामा २५ जनाभन्दा धेरै सहभागी नहुन आदेश जारी गरेको थियो । तर, सर्वसाधारण त्यसको परवाह नगरी मेलामा निर्धक्क सहभागी भएका हुन् । माघ १ गतेदेखि २९ गतेसम्म मकर मेला लाग्नेछ । नेपालमा एकमात्र स्थान उत्तर प्रयागका रूपमा चिनिने पनौतीमा लाग्ने मकर मेलाको धार्मिक विशेषताका कारण देश तथा विदेशबाट समेत भक्तजन मेला भर्न आउने गरेका थिए ।
सत्ययुगमा देवराज इन्द्रले ऋषि गौतमकी पत्नी अहिल्यासँग छल गरेर अनुचित यौनसम्बन्ध कायम गरेपछि गौतम ऋषिको श्रापबाट मुक्त हुन पनौतीमा आएर तपस्या गरेका थिए । उनी पापबाट मुक्त भएका थिए भन्ने लोक आख्यान छ । त्यही किम्वदन्तिका आधारमा पनौतीमा हरेक १२ वर्षमा एक महिना त्रिबेणी धाममा मेला लाग्दै आएको छ । त्रिवेणी धाममा आई स्नान गर्दा आफूले जीवनमा गरेका हरेक पापबाट मुक्त भइन्छ भन्ने विश्वास जनमानसमा रहेको इतिहासका जानकार सूर्यप्रसाद लाकोजुले बताउनुभयो ।
महाभारतका प्रमुख पात्रहरु पाँचपाण्डवकी पत्नी द्रौपदीको मन्दिर पनौतीमा रहेको छ । प्राचीन समयमा इन्द्र, महादेव, विष्णु, अहिल्या, शची, पार्वती, गोरखनाथ, पाण्डव आदि देविदेवता र महापुरुषहरु पनौतीलाई तपोभूमि मानेर पनौतीमा आउने गरेको जनश्रुति रहेको छ । जगदगुरु शंकराचार्य, बन्धुदत्त, राजा मानदेव, हरिसिंहदेव, नरेन्द्रदेव, पृथ्वीनारायण शाह, बेलायती युवराज्ञी डायनाजस्ता व्यक्तित्व पनौतीमा आई पनौतीका बारेमा प्रशंसा गरेको ऐतिहासिक दस्तावेज रहेको लाकोजुले बताउनुभयो ।
मकर मेलामा पद्मावती, लीलावती र गुप्त रूपमा बहने रुद्रावतीको संगम रहेकाले त्रिवेणीको संगममा स्नान गर्ने चलन छ । स्नानलगत्तै इन्द्रेश्वर महादेवको दर्शन गरी गोरखनाथ डाँडामा गई दर्शन गर्ने गरिन्छ । भक्तजनहरुको घुइँचोका कारण पनौतीबाट कोराना भाइरसको थप संक्रमण फैलन सक्ने चिन्ता स्थानीयमा छ ।
प्रतिक्रिया