४ करोडको लागतमा बसपार्क निर्माण हुँदै



सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा निर्माणाधीन आधुनिक किसिमको बसपार्क निर्माणको काम अहिले धमाधम भइरहेको छ । निर्माण शुरू भएको करिब १० महिनाको अवधिमा बस पार्क निर्माणको काम हालसम्म झन्डै ४० प्रतिशत सकिएको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीले जनाएको छ । २०७७ सालको फागुन २४ गतेबाट निर्माण शुरू भएको बसपार्क निर्माणको काम अहिलेसम्म सन्तोषजनक रहेको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख इन्जिनियर दुर्गाप्रसाद घिमिरेले बताउनुभयो ।

विशेषगरी विपी राजमार्ग र निर्माणाधीन मदन भण्डारी राजमार्गमा गुड्ने सवारी साधनलाई लक्षित गरी वागमती प्रदेश सरकारले भिमानमा बसपार्क निर्माण गरेको हो । ‘यहाँ यी दुई सडकमा गुड्ने गाडी र स्थानीय सडकमा गुड्ने गाडीहरू पार्किङ गर्न सकिन्छ’ – प्रमुख घिमिरेले भन्नुभयो । वागमती प्रदेश सरकारको कुल ४ करोड १५ लाख लागतमा भिमानमा बसपार्क निर्माण भइरहेको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख इन्जिनियर घिमिरेले जानकारी दिनुभयो ।

वागमती प्रदेशको ७ करोड २२ लाख बजेटमा ठेक्का प्रक्रियामा विकास एन्ड ब्रदर्श आत्रेय श्रीकृष्ण जेभीले ४ करोड १५ लाखमा बसपार्क निर्माण सम्पन्न गर्नेगरी जिम्मा पाएको हो । निर्माणाधीन बसपार्कमा साना ठूला गरी एक सय सवारी साधन अटाउन सक्ने क्षमताको बन्ने प्रमुख घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार बसर्पाकभित्र बस टर्मिनल, बस रोकेर राख्ने हेङ्गर, यात्रु प्रतिक्षालय, टिकट काउन्टरसहितको ३ तलाको कार्यालय भवन, सवारी साधन मर्मत गर्ने ठाउँ र शौचालय निर्माण हुनेछ ।

निर्माण कम्पनीले आगामी असार मसान्तसम्ममा बसपार्क निर्माण सम्पन्न गरी सक्नुपर्ने प्रमुख घिमिरेले बताउनुभयो । बसपार्क विपी राजमार्ग र मदनभण्डारी राजमार्ग जोडिने ठाउँ कमलामाई नगरपालिका ९ भिमान आजात स्मृति पार्क नजिकै निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्