विजयको गोलमा थ्रीस्टार विजयी

0
Shares

काठमाडौं ।

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा थ्रीस्टार क्लबले संकटा क्लबलाई अन्तिम मिनेटमा हराएर १–० को रोमाञ्चक जित निकालेको छ । खेल गोलरहित बराबरीमा अग्रसर भएको अवस्था थियो । सात मिनेट थपिएको इन्जुरी समयको अन्तिम मिनेट चलिरहेको थियो । यसै समय निशान खड्काले संकटाको पोस्टमा सशक्त प्रहार गरे । संकटाका गोलकिपर राजाबाबु थापाले हावामा उफ्रेर निशानको प्रहारलाई पञ्च गरेर बचाए । तर, पोस्टनजिकै रहेका राफायल रिमगागोको खुट्टामा बल पर्यो । उनले बललाई क्रस गरे र विजय भुजेलले वान टचमै पोस्टमा प्रहार गरेका थिए ।

संकटाका खेलाडीले उनको प्रहारलाई जाली चुम्नबाट रोक्न कोशिस गरे, तर सफल भएनन् र गोल भयो । विजय ९० मिनेटमा संजोक राईको स्थानमा मैदान आएका थिए । उनले नै थ्रीस्टारलाई विजयी बनायो । यो जितसँगै थ्रीस्टारले अन्तिममा ३ अंक खोस्न सफल भयो भने संकटाको जारी लिगमा पहिलो हार भयो ।

योसँगै थ्रीस्टार ९ खेलमा १६ अंक जोड्दै अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । पहिलो स्थानमा रहेको मच्छिन्द्रको २० अंक छ भने मनाङ मस्र्याङदी १९ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, आर्मीको १७ अंक छ । आर्मी पनि एक स्थानमाथि उक्लिएर तेस्रो स्थानमा रहेको हो । संकटा भने यो अप्रत्यासित हारसँगै १४ अंकसहित तेस्रोबाट पाँचौं स्थानमा चिप्लेको छ ।

फ्रेन्डस्लाई रेलिगेसनकै डर
जारी लिगमा फ्रेन्डस् क्लबको रेलिगेसनबाट जोगिने संघर्ष अझै मुस्किल भएको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा फ्रेन्डस्ले हार बेहोरेपछि रेलिगेसनकै डरले सताउने भएको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा फ्रेन्डस्लाई त्रिभुवन आर्मी एफसीले ३–१ गोलअन्तरले हराएको हो ।

फ्रेन्डस्ले १३ मध्ये ९ खेल खेल्दा मात्र ३ अंक जोडेको छ । टिमको प्रदर्शन राम्रो भएपनि एक जित पनि हात पार्न सकेको छैन । खेलिएको ९ खेलमा ६ मा हार बेहोरेको फ्रेन्डस्ले ३ खेल बराबरी खेलेको हो । बाँकी ४ खेलमध्ये ३ खेलमा जित हासिल गर्नै पर्ने टिमको लागि रहेको छ । फ्रेन्डस्का प्रशिक्षक मृगेन्द्र मिश्रले अझै रेलिगेसनबाट टारिन सकिने बताए ।

मिश्रले बताए—हाम्रो बाँकी चारै खेल अंकतालिकाको तल रहेका टिमविरुद्ध हुनेछ । यो फुटबल हो यसमा चमत्कार हुन पनि सक्छ नहुन पनि सक्छ । हामीले अन्तिम मिनेटसम्म पनि आश गरेका छौँ कि हामी रेलिगेसन हुने छैनौं ।

उता आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक–एक गोल गरेका थिए । जगजितले खेलको १०औं मिनेटमा गोल गर्दै आर्मीलाई १–० को अग्रतामा राखेका थिए । उक्त गोल फ्रेन्डस्का गोलकिपर राहुल यादवको मिसजजको कारण भएको थियो । जगजितले बायाँ विंगबाट फ्रेन्डस्को डिबक्समा क्रस गरेको बल सीधै जाली चुम्न पुगेको थियो । गोलकिपर यादवले उक्त बललाई बचाउन कुनै प्रयास गरेका थिएनन् ।

यस्तै, दिनेशले ४५औं मिनेटमा गोल गरेर आर्मीको अग्रता दोब्बर पारेका थिए । पहिलो हाफ २–० को अग्रतामा रहेको आर्मीले दोस्रो हाफ शुरू भएलगतै गोल आत्मसात् गरेको थियो । जमौल एन्थोनीले ४७ औं मिनेटमा गोल गरेर गोलअन्तर २–१ मा खुम्च्याएका थिए । तर, सुमनले ७१औं मिनेटमा गोल थपेपछि आर्मीको जित सुनिश्चित भएको थियो ।