रेडहर्स बन्यो एन्फा लिग च्याम्पियन

0
Shares

इलाम ।

रेडहर्ष फूटबल क्लब इलाममा भएको एन्फा जिल्ला लिगमा एमएफसी पान्दाम फिक्कललाई ४–० ले हराउँदै च्याम्पियन बनेको छ । लिग च्याम्पियन रेडहर्षले अब प्रदेश लिगमा इलामको नेतृत्व गर्नेछ । खेल शुरू भएको ४ मिनेटमै पासाङ शेर्पाको गोलबाट रेडहर्षले अग्रता लिएको थियो । खेलको ३८ औं मिनेटमा सन्तोष रम्तेलले गोल गर्दै रेडहर्षले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । खेलको ४१ औं मिनेटमा पान्दामका गोलरक्षक मौसम लुंगेली मगर रेडकार्ड खाँदै मैदान बाहिरिएपछि पान्दाम बाँकी समय १० खेलाडीमा सीमित भएको थियो ।

खेलको ६४औं मिनेटमा पासाङले व्यक्तिगत थप एक गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए । ६९औं मिनेटमा पेनाल्टीमा सन्तोष रम्तेलले सहजै गोल गर्दै टिमलाई सानदार जित दिलाउनुका साथै लिग च्याम्पियन बनाउन सफल भए । लिग च्याम्पियन बनेको रेडहर्षले नगद २५ हजार पुरस्कार पाउँदा उपविजेता पान्दामले १५ हजार रुपैयाँ पाएको छ ।
अखिल नेपाल फूटबल संघ (एन्फा)को वार्षिक कार्यक्रमअनुसार जिल्ला फुटबल संघ इलामले आयोजना गरेको एन्फा जिल्ला लिगमा जम्मा ४० वटा खेल भएका छन् । संघमा आबद्ध रहेका १३ वटा क्लबले लिगमा सहभागिता जनाएका थिए ।

नेपाल समाचारपत्रकर्मी घिमिरे सम्मानित
जिल्ला फूटबल संघ इलामले नेपाल समचारपत्रकर्मीसहित तीन जना पत्रकारलाई सम्मानसहित पुरस्कृत गरेको छ । पत्रकारिताको माध्यमबाट इलामको खेलकुद क्षेत्रमा कलम चलाएको भन्दै नेपाल समाचारपत्र दैनिक इलाम संवाददाता गणेश घिमिरेलेलाई सम्मानसहित नगद पुरस्कार प्रदान गरेको हो ।

यस्तै, अन्य दुईजना पत्रकार नमिन ढकाल र विनय तिम्सिनालाई पनि सम्मानसहित पुरस्कृत गरिए । सम्मानित तीनैजना पत्रकारलाई इलाम नगरपालिकाका मेयर महेश बस्नेत, अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य निरोज खड्गी र जिल्ला फूटबल संघ इलामका अध्यक्ष महेश श्रेष्ठले सम्मान र नगद पुरस्कार प्रदान गर्नुभयो ।