परीक्षण गरेका आधा बढीलाई कोरोना

0
Shares

बाँके (नेस) ।

बाँकेको तीन वटा ल्याबमा परीक्षण गर्न आएका आधा बढीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, शनिबार यहाँका तीन वटा ल्याबमा एक सय तीन जनाको परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको छ । ५३ मध्येमा ३९ जना बाँके जिल्ला निवासी रहेका छन् ।

पछिल्लो हप्तादेखि बाँकेको ल्याबमा परीक्षण गर्ने अधिकांशलाई संक्रमण देखिएको छ । भेरी अस्पतालमा ४४ जनाको परीक्षण गर्दा २८ जना, कोहलपुर मेडिकल कलेजमा ३४ जनाको परीक्षण गर्दा १६ जना र वागेश्वरी ल्याबमा २५ जनाको परीक्षण गर्दा नौ जनामा संक्रमण देखिएको फोकलपर्सन वलीले बताउनुभयो । बाँकेमा सक्रिय संक्रमितको संख्या एक सय ९० जना पुगिसकेको छ । संक्रमितको अस्पतालमा चाप बढिसकेको छैन । सबैजसो होम आइसोलेसनमा बसेका छन् । भेरी अस्पतालमा नौ जना संक्रमितको मात्रै उपचार भइरहेको छ । शनिबार दुई जना डिस्चार्ज भएका छन् ।

यता, नेपालगञ्ज नाकामा सात जनालाई संक्रमण पुष्टि भएको छ । भारतबाट आएका एक सय ३३ जनाको परीक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको फोकलपर्सन वलीले जानकारी दिनुभयो । नेपालगञ्ज नाकामा कार्यरत दश जना स्वास्थ्यकर्मी संक्रमित भएर होम आइसोलेसनमा बसेका छन् । फोकलपर्सन वलीले नाकामा भन्दा पनि जिल्लाकै ल्याबमा गरिएको परीक्षणमा संक्रमितको संख्या बढ्दै गएको बताउनुभयो । चिसोले गर्दा रुघाखोकी, घाँटी खसखस हुने बढेका छन् । सामान्य लक्षण देखिएकाहरू परीक्षण गर्न गएको पाइएको छैन ।