पाटन अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

0
Shares

ललितपुर (नेस) ।

पाटन अस्पतालमा जडान गरिएको मेडिकल अक्सिजन प्लान्ट शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपाल सरकार र ललितपुर महानगरको आर्थिक सहयोगमा पाटन अस्पतालमा जडान गरिएको उक्त प्लान्टको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो । भदौदेखि नै परीक्षणमा रहेको उक्त प्लान्टलाई औपचारिक रूपमा शुक्रवार बाट सञ्चालनमा ल्याइएको हो । तीन करोडको लागतमा जडान भएको उक्त प्लान्टका लागि महानगरले एक करोड गत वर्षको माघमा हस्तान्तरण गरेको थियो ।

महानगर प्रमुख महर्जनले कोरोना संक्रमणको महामारी अझै बाँकी रहेकाले अक्सिजन प्लान्टको जडानले कोराना बिरामीको उपचार गर्न सहज हुने बताउनुभयो । पाटन अस्पतालले कोरोनाको पहिलो र दोस्रो लहरमा बिरामीको उपचारमा गरेको कामको उनले प्रसंशा गर्नुभयो । महर्जनले भन्नुभयो– ‘त्यत्तिबेला म स्थानीय सरकारको प्रमुखको हैसियतले चिकित्साकर्मीको हौसला बढाउन अस्पताल आएको थिएँ, यहाँको अक्सिजन प्लान्ट बिग्रिएको जानकारी पाएपछि सहयोगको कुरा अघि बढाएको हुँ ।

सो प्लान्टले दैनिक ५० लिटरको दुई सय २० सिलिन्डर अक्सिजन उत्पादन गर्ने अस्पतालका निर्देशक प्रा.डा. रवि शाक्यले जानकारी दिनुभयो । डा.शाक्यले मुलुकमा दोस्रो लहरको कोरोना भित्रिँदा आफूहरूले अक्सिजन अभावमा पाएको दुःख स्मरण गर्दै सो प्लान्टको सहयोगले कोभिडको सम्भावित तेस्रो लहरलाई समेत थेग्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘महानगरले हाम्रो अस्पतालप्रति अभिभावकत्व ग्रहण गरेको देख्दा आवश्यक सहयोग पाउने अपेक्षा गरेका छौँ ।

प्रतिष्ठानका उपकुलपति डा. राजेशनाथ गोगंलले कोभिडको दोस्रो लहर रहँदा आफूहरूको सामथ्र्यले भ्याएसम्म बिरामीको सेवा गरेको जानकारी दिँदै आगामी दिनमा जस्तोसुकै विपत सिर्जना भए पनि सो प्लान्टले नै अक्सिजन उत्पादन गर्ने बताउनुभयो ।