कोभिड नियन्त्रणमा सबै मिलेर लागौं : प्रधानमन्त्री देउवा

0
Shares

काठमाडौं (नेस) ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । उहाँले अहिले देखापरेको कोभिड नियन्त्रण र रोकथाम गर्न सबै मिलेर लाग्नुपर्ने बताउनुभएको हो । शनिबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको कोभिड नियन्त्रणका सरकारले गर्नुपर्ने कामका बारेको ज्ञापनपत्र बुझेपछि जवाफ दिँदै प्रधानमन्त्रीले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताउनुभयो ।

आफूले सरकारको नेतृत्व गरेपछि कोभिडविरुद्धको खोप लगाउने संख्या वृद्धि भएको बताउँदै प्रधानमन्त्री देउवाले खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउने गरी सरकारले काम गरिरहेको बताउनुभयो । एमालेले बुझाएको ध्यानाकर्षणपत्र सकारात्मक रहेको बताउँदै उहाँले भन्नुभयो–‘सरकार उत्तिकै चिन्तित छ । राष्ट्र नै एक हुनुपर्छ, अहिले तेरो पार्टी, मेरो पार्टीभन्दा पनि सबै मिलेर कोभिड नियन्त्रणमा लागौं ।’

‘सबै पार्टीले आ–आफ्नो ठाउँबाट यसको रोकथामको लागि प्रयास गर्नुपर्छ । जनतालाई सम्झाउनु, बुझाउनुपर्छ । ठीक छ, विपक्षी पार्टीको हिसाबले सरकारको विरोध गर्ने कुरा म बुझ्दछु । साथसाथै यो त सबैको समस्या हो । यसलाई रोकथाम गर्नका लागि सबैले ध्यान दिनुपर्छ’ – उहाँले भन्नुभयो ।