न्यौपानेले जताततै सेटिङ गरे : कलेज प्रशासन

नेपाल इन्जिनियरिङ कलेज विवाद

0
Shares

काठमाडौं ।

नेपाल इन्जिनियरिङ कलेजका पदाधिकारीहरूले पूर्वअध्यक्ष लम्बोदर कुमार न्यौपानले अदालतदेखि राजनीतिक दलका नेतासम्म सेटिङ गरेको आरोप लगाउँदै न्यौपाने लगायतका सञ्चालकलाई कारबाही गर्न माग गरेका छन् ।

पटक–पटक उच्च राजनीतिक नेता, प्रशासक, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले न्यौपानेमाथि लागेका गम्भीर आरोप छानबिन गर्न आग्रह गर्दासमेत सम्बन्धित निकायले बेवास्ता गरेपछि कलेज सञ्चालक समितिले पत्रकार सम्मेलन गरी न्यौपाने लगायतका सञ्चालकलाई कारबाही गर्न माग गरेका हुन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले भन्नुभयो– ‘अदालत गयो अदालतमै, दलका नेतासँग कुराकानी गर्न गयो त्यहीँ नै सेटिङ मिलाएको छ । कलेजमा करोडौं रुपियाँ भ्रष्टाचार गरेका न्यौपानेले अझै पनि सेटिङमा काम गरिरहनुभएको छ ।’

पछिल्लो समय सम्पत्ति शुद्धीकरण विभागले ३० महिना लगाएर गरेको अनुसन्धानमा समेत मुद्दा चलाउन नदिन र सबै प्रतिवेदन तामेलीमा राख्न न्यौपानेले चलखेल गरेको आरोप लगाउँदै प्रिन्सिपल प्राडा श्रेष्ठले भन्नुभयो–‘यहाँसम्म कि महान्यायधिवक्ता कार्यालयले सो फाइल उल्टै थन्क्याएको छ ।’

कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुरका चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले राजनीतिक पहुँच र आर्थिक प्रलोभनका नाममा अहिले पनि अनेक षड्यन्त्र र चलखेल भइरहेको टिप्पणी गर्दै आफूहरूलाई स्वतन्त्रतापूर्वक कलेज चलाउने वातावरण सिर्जना गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो– ‘यो सार्वजनिक सम्पत्ति हो, यसलाई रक्षा गर्न हामी सबै लागेका छांै ।’ चार वर्षअघि देखिको लफडाका कारण कलेजमा गम्भीर समस्या परेको उहाँको भनाइ छ ।

करिब २ हजार ३ सय विद्यार्थी र २ सय शिक्षक तथा कर्मचारीको भविष्यसँग जोडिएको कलेजलाई जोगाइदिन हारगुहार गरिरहेको कलेज प्रशासनले न्यौपानेले राजनीतिक चलखेल गरी सबैलाई गुमराहमा राखेको आरोप लगाएको छ ।

लम्बोदर न्यौपानेले कलेजलाई पूर्ण रूपमा ध्वस्त पार्न खोजेपछि अख्तियामा उजुरी परेको थियो । उजुरी छानबिनको क्रममा आयुक्त राजनारायण पाठकले केस मिलाउन घुस मागेको र लम्बोदर न्यौपानेले घुुस दिएको घटना बाहिरिएपछि आयुक्त पाठकले राजीनामा दिनुभएको थियो । सो घटनापछि न्यौपानेलाई पक्राउ गरी छनाबिन शुरू गरिएको थियो ।

त्यसपछि पक्राउ परेका न्यौपाने ७८ लाख रुपियाँ धरौटीमा छुटेका थिए । अहिले फेरि आर्थिक चलखेल शुरू गरेको न्यौपानेले कलेज सञ्चालक समितिलाई धम्क्याउने गरेको आरोप छ ।
न्यौपानमाथि सो सामुदायिक कलेजलाई निजी कम्पनीमा रूपान्तरण गरी मनोमानीपूर्वक करिब ५२ करोड रुपियाँ घोटाला गरेको आरोप छ । कुल १ सय ७४ रोपनी सार्वजनिक जग्गामा २७ वर्षअघि स्थापित सो कलेजमा लम्बोदरले एकलौटी निर्णय गरी आर्थिक दुरुपयोग गरेको आरोप छ ।

कलेज सञ्चालक समितिको बैठकमा न्यौपानेले विद्यार्थीसँग उठाउन बाँकी शुल्क उठाउने जिम्मा लिई सोबापत १५ प्रतिशत रकम खर्च गर्ने अधिकार लिएको, कलेजका अध्यक्ष र सञ्चालक समितिको तलबभत्ता कलेजको खाताबाट नगरी कार्यकारी अध्यक्ष न्यौपानेसहित ३ जना सञ्चालकको संयुक्त खाता खोली करोडौं रुपियाँ अपचलन गरेको आरोप लगाइएको छ । बैठकबाट तत्कालीन कार्यकारी अध्यक्ष न्यौपानेको परिवार अस्ट्रेलियामा भएको हुँदा उहाँलाई वर्षमा ३ पटक अस्ट्रेलिया आउने र जाने टिकट सुविधा दिने र उहाँकी श्रीमतीलाई वर्षमा दुईपटक नेपाल आउने जाने टिकट सुविधा दिनेसम्मको निर्णयसमेत गराइएको थियो ।

करोडौं रुपियाँ भ्रष्टाचार गर्ने तत्कालीन कार्यकारी अध्यक्ष न्यौपानेलाई तत्काल कारबाही गर्न माग गर्दै प्रिन्सिपल श्रेष्ठले भन्नुभयो– ‘हामी न्याय माग्दै सबैतिर धाएका थियौं, त्यहाँबाट सुनुवाई हुने आशा कम देखेपछि पत्रकार सम्मेलन आयोजना गरेका हौं । हामीसँग कार्यकारी अध्यक्ष न्यौपानेले गल्ती गरेका सयौं प्रमाण छन्, तैपनि उचित सुनुवाई हुन सकेको छैन ।’ उहाँले सोही प्रकरणमा सम्पति शुद्धीकरण, केन्द्रीय अनुसन्धान ब्युरो, भक्तपुर जिल्ला प्रशासन कार्यालयलगायत निकायमा पनि छानबिन भएको भए तापनि मुद्दाको किनारा लाग्न ढिलाइ हुनुले आशङ्का उब्जिएको बताउनुभयो ।

तत्कालीन कार्यकारी अध्यक्ष न्यौपानेले कलेजलाई प्राइभेट लिमिटेडमा दर्ता गर्नसमेत सफल हुनुभएको थियो । पछि विद्यार्थी र स्थानीयको आन्दोलनपछि कम्पनी रजिस्ट्रार कार्यालयले सो निर्णय फिर्ता गरेको थियो । उहाँकै कार्यकालमा सञ्चालक समितिका अध्यक्षले ५ लाख र सञ्चालकहरूले १ लाख २५ हजार रुपियाँ पाउने व्यवस्था गरिएको थियो । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजलाई न्यौपानेले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन गराउनुभएको थियो । उहाँले मध्यपश्चिम विश्वविद्यालयमा समेत सम्बन्धन प्रकृया अघि बढाउनु भएको थियो ।

न्यौपानेको समूहले कलेजको करोडौं रुपियाँ अपचलन गरेपछि चाँगुनारायण नगरपालिका शिक्षा समितिको बैठकले कलेजको जिम्मा नगरपालिकालाई दिने निर्णय गरेको थियो । चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले भन्नुभयो– ‘न्यौपानेको कारण कलेजलाई करोडौं रुपियाँ नोक्सान भएको छ, उक्त रकम उहाँबाटै असुल उपर गरी हदैसम्मको कारबाही गर्नुपर्छ ।’

कलेज प्रशासनले ३७ बुँदे तथ्य सार्वजनिक गरी न्यौपानेबिरुद्ध कारबाही प्रक्रिया अघि बढाउन अपिल गरेका छन् ।