दोघरेमा योगा हलको नगर प्रमुख पाण्डेद्वारा उद्घाटन


तुलसीपुर ।

राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर– ९ दोघरेको परिसरमा निर्माण गरिएको योगा हलको उद्घाटन गरिएको छ । राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर– ९ दोघरेले आयोजना गरेको सातौँ राष्ट्रिय योग दिवस तथा योग हल र सेवा विस्तार कार्यक्रमको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले गर्नुभएको हो ।

सो अवसरमा नगर प्रमुख पाण्डेले ऋषिमुनिका सन्तान सिसीमुनिबाट माथि उठ्नुपर्ने बताउँदै सर्वाङ्गीण विकासका लागि योग, ध्यान र भोजनमा ध्यान दिनुपर्ने बताउनुभयो । ‘दूध, दही, हरियो साग खानुस् भन्दै घर–घरमा जाँदा समेत मान्छेले किन्दैनन् । तर खान नहुने कुरा जाँड रक्सी लुकी–लुकी भट्टी पसलमा गएर किनेर खान्छन् । खानेकुरा किन्नुस् भन्दै घरघर जाँदा पनि नकिन्ने र खान नहुने कुरा खोजी खोजी किनेर खाँदा यसले हाम्रो शरीर पनि बिग्रियो । बानी पनि बिग्रियो । घरमा अशान्ति र कलह पनि भयो ।’

सर्वाङ्गीण विकासका लागि सकारात्मक सोच र विचारको आवश्यकता रहेको बताउँदै नगर प्रमुख पाण्डेले त्यसका लागि आहार, विहार र विचारमा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । ‘कोक, फ्यान्टा भन्दा दूध, दही,मोही खोजौँ । बनी बनाउँ भन्दा आफ्नै भान्छामा पाकेको रोटी र ढिँडोलाई मिठो मानेर खाउँ । अल्छी नमाने र योग, ध्यान गरौं । जसले निरोगी बनाउँछ ।

मान्छे निरोगी र स्वस्थ भयो भने उसको सोंच र बिचार सकारात्मक हुन्छ । जसले सर्वाङ्गीण विकासका लागि सहयोग पु¥याउछ ।’ नगर प्रमुख पाण्डे भन्नुभयो । अस्पताल विकास समितिका अध्यक्ष नारायण कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा आयुर्वेद चिकित्सालय योग केन्द्र प्रमुख ओझ खड्का, योग प्रशिक्षक योगेन्द्र बहादुर शाह दिपक लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहरीकरण डा. कैलाश न्यौपानेले गर्नुभएको थियो ।