चन्द्रकोटमा बन्यो बहुउद्देश्यीय सभाहल

0
Shares

गुल्मी ।

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले बनाएको बहुउद्देश्यीय सभाहल बिहीबार एक कार्यक्रममका बीच उद्घाटन भएको छ । गाउँपालिकाको केन्द्र शान्तिपुरमा पालिकाका अध्यक्ष दोर्ण खत्रीले उद्घाटन गर्नुभएको हो ।

सभाहलको उद्घाटन गर्दै गर्दै अध्यक्ष खत्रीले सभाहल निर्माणमा सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार, पालिका परिवार र पालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा जग्गा दाना गर्न दाताहरुलाई धन्यवाद दिनुभएको थियो । सभाहल सबैको साझा भएकाले सबै जनता, विभिन्न संघ–संस्था तथा राजनीतिक दलले प्रयोग गर्न पाउने उहाँको भनाइ छ ।

विभिन्न कार्यक्रम हुने तर भवन अभावका कारण समस्या हुँदै आएको थियो । भवन निर्माणपछि गाउँपालिकाको विकासमा इँटा थप्ने काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षत्रीले बताउनुभयो ।

गाउँपालिकाले सभाहल निर्माणका लागि निःशुल्करूपमा जग्गा दान गर्ने दाताहरुलाई सम्मान गरेको थियो । चन्द्रकोट गाउँपालिको विभिन्न क्षेत्रमा रहेर कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो । पालिकाको २४ लाख ७९ हजार २ सय २१ र लुम्बिनी प्रदेशको ६० लाख लगानीमा एक वर्षभित्र सक्ने गरी २०७७ साल फागुन ६ गते आकृति मालिका कन्स्ट्रक्सन प्रालि काठमाडौंले सचाहलको ठेक्का लिएको थियो ।