विद्यालयको पठनपाठन–मेलामहोत्सवमा रोक

0
Shares

गुल्मी ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डीसीएमसीसी) गुल्मीले पुस २९ गतेबाट सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।

तर, जिल्लाको परिस्थतिअनुसार डीसीएमसीसीले कार्यान्वयन गर्ने भएकाले जिल्लामा कोभिड संक्रमण बढ्दै गएकाले बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । पूर्वनिर्धारित परीक्षाहरुको सम्बन्धमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्ने निर्णय भएको छ ।

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव नगर्ने/नगराउने निर्णय पनि बैठकले गरेको छ । माघे संक्रान्तिका अवसरमा रूरूक्षेत्र, छाप, छल्दीलगायतका स्थानमा हुने मेला र महोत्सव बन्द गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्दा र सार्वजनिक स्थलहरुमा प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य गर्ने निर्णय भएको छ । स्वास्थ्य कार्यालयले नियमित खोप केन्द्रहरुबाट खोपलाई अभियानकै रूपमा अगाडि बढाउने र स्थानीय तहमा निःशुल्क एन्टिजेन परीक्षणको व्यवस्था मिलाउने, लक्षित समुदायमा पर्ने खोप लिन इच्छुक सबैलाई ०७८ माघ १५ भित्र खोप लगाउने प्रबन्ध गर्ने निर्णय भएको छ ।

उद्योग धन्दा, कलकारखाना, व्यापार व्यवसाय, बैंक तथा वित्तीय संस्थाका साथै सेवा प्रवाह गर्ने सबै कार्यालयले जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना हुने व्यवस्था मिलाउने बैठकमा निर्णय भएको छ ।

त्यस्तै, जिल्लामा सञ्चालन हुने सार्वजनिक एवं निजी सवारीसाधनका सवारी चालक, सहचालक र सबै यात्रुरुहरूले अनिवार्य मास्क लगाउने, मास्क नलगाउने यात्रुलाई सवारीसाधनमा प्रवेश नगराउने भएको छ । सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, स्यानिटाइजरको व्यवस्था गर्ने र सवारीसाधन दैनिक निःसंक्रमण गर्ने निर्णय भएको छ ।

सरकारी कार्यक्रमको हकमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले कोभिड–१९ का बारेमा अवगत गराउँदै आत्म अनुशासनका विधि नै नियन्त्रणको प्रमुख उपाय भएको बताउनुभयो । गुल्मीका अहिले १२ जना सक्रिय संक्रमित रहेका छन् ।