नाकामा मात्रै रहेनन् संक्रमित

0
Shares

बाँके ।

भारतबाट आएका व्यक्तिलाई नाकामा जाँच गर्दा धेरै संख्यामा कोरोना देखिँदै आएकोमा बिहीबार बाँके जिल्लामै ठूलो संख्यालाई कोरोना पुष्टि भएको छ । जिल्लामा एकैदिन स्वास्थ्यकर्मीसहित ८५ जनालाई कोरोना पुष्टि भएको हो ।

पहिलो र दोस्रो चरणको कोरोनाकालमा बाँके ‘हटस्पट’ बनेको थियो । तेस्रो चरणको शुरुआतीमै बाँकेमा संक्रमित ह्वात्तै बढेका छन् । नाकासहित चार ठाउँमा गरिएको परीक्षणमा एकैदिन ८५ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार नेपालगन्ज नाकामा ३ सय २९ जनाको जाँच गर्दा ४७ जनालाई कोरोना देखिएको हो ।

उनीहरु भारतको विभिन्न ठाउँबाट आएका व्यक्ति हुन् । भारतबाट आएका व्यक्तिलाई कोरोना जाँच्दा जाँच्दै नाकामा रहेको हेल्थ डेस्कमा कार्यरत आठ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । बिहीबार एक जना स्वास्थ्यकर्मी संक्रमित भएसँगै नाकाको हेल्थ डेस्कमा २४ जना स्वास्थ्यकर्मी खटिएकोमा अब १६ जनाले काम गरिरहेका छन् । नाकामा कोरोना देखिएकालाई एम्बुलेन्समा राखेर नेपालगन्जस्थित बाल मन्दिरमा रहेको आइसोलेसनमा ल्याएर सम्बन्धित पालिकामा पठाउने गरिएको छ ।

भारतबाट आउनेका कोरोना देखा परिरहे पनि बाँके जिल्लाका ल्याबमा कोरोनाको संक्रमित धेरै देखा परिरहेका थिएनन् । बिहीबार ९३ जनाको जाँच गर्दा एकैपटक ३८ जनामा कोरोना देखिएको छ । यो तथ्यांकले बाँकेको नाकामात्रै होइन, जिल्लाभित्र पनि कोरोना संक्रमण फैलिएको पुष्टि गरेको छ । धेरै समयपछि जिल्लाका तीनवटा ल्याबमा गरिएको परीक्षणमा धेरै जना संक्रमित पुष्टि भएको छ ।

भेरी अस्पतालमा ४३ जनाको परीक्षण गर्दा २० जना, कोहलपुर मेडिकल कलेजमा २८ जनाको परीक्षण गर्दा १५ जना र बागेश्वरी ल्याबमा २२ जनाको परीक्षण गर्दा तीन जनालाई कोरोना पुष्टि भएको छ । ३८ जनामध्ये २४ जना बाँके जिल्ला निवासी रहेका छन् ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन वलीले नाकामात्रै नभएर जिल्लाभित्रै संक्रमित बढेको बताउनुभयो । तेस्रो चरणको ओमिक्रोनको संक्रमित बढे पनि सबैजसो होम आइसोलेसनमा बसेका छन् । अस्पतालमा नौ जना मात्रै छन् । जमुनाहा नाकामा भारतबाट आएका व्यक्तिलाई जाँच गर्दा गर्दै संक्रमित भएका आठैजना स्वास्थ्यकर्मी पनि होम आइसोलेसनमा बसेका छन् ।

भारतमा संक्रमित बढ्दा नेपालमा त्यसको असर परेको छ । भारतबाट आएका सबै जनालाई नाकामा जाँच गर्न सकिएको छैन । भारतबाट दैनिक १ हजार आसपासमा मानिस नेपाल फर्किरहेका छन् । त्यसमध्येमा ३ सयदेखि ४ सय हाराहारीमा जाँच भइरहेको छ । भारतमा कोरोना संक्रमण फैलिएकाले सीमावर्ती बजारमा किनमेल गर्न जाने भीडलाई नियन्त्रण गर्न जरुरी रहेको छ । बाँकेमात्रै नभएर छिमेकी जिल्लाहरु सुर्खेत, दैलेख, दाङबाट समेत भारतीय बजार रुपैडिहामा किनमेल गर्न जाने गर्दछन् ।

बाँकेमा सक्रिय संक्रमितको संख्या सय पुगेको छ । भेरी अस्पतालमा ९ जनाको उपचार भइरहेको छ । एक जना सिकिस्त, ७ जना मध्यम र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । जिल्लामा बिहीबार तीन जना डिस्चार्ज भएका छन् ।