सरकारी सेवा लिन पूर्ण खोपकार्ड अनिवार्य



बैतडी ।

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा सरकारी सेवा लिनका लागि पूर्ण खोप लगाएको हुनुपर्ने भएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि अब सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको पूर्ण खोप लगाएको कार्ड अनिवार्य साथ राख्नुपर्ने भएको हो ।

गृह मन्त्रालयको निर्देशनअनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य पूर्ण खोप लगाएको खोपकार्ड साथमा राख्नुपर्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जनाउनुभयो । ‘कोरोना संक्रमणको जोखिम कम गर्न र खोपमा सबैको पहुँच पुर्याउन हामीले खोप कार्ड अनिवार्य गरेका हौं ।’ –उहाँले भन्नुभयो ।

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिन थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका तर्फबाट हरेक स्थानीय तहमा आइसोलेसन कक्षको व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ । जिल्ला सदरमुकाममा जिल्लास्तरीय आइसोलेसन निर्माणका लागि दशरथचन्द नगरपालिकालाई आग्रह पनि गरिएको छ ।

घरबाहिर वा सार्वजनिक स्थलमा जाँदा, सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम लगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ । यस्तै, कोरोनाको जोखिम कम गर्नका लागि २५ जनाभन्दा बढी भेला नहुन भनिएको छ भने सामाजिक दुरी कायम गर्न पनि आग्रह गरिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्नुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताउनुभयो । ‘संक्रमणको जोखिम कायमै छ, स्वास्थ्यका मापदण्ड पालना गर्न अनिवार्य छ ।’ –उहाँले भन्नुभयो ।

यसैबीच ओमिक्रोनको नयाँ भेरियन्ट फैलन सक्ने भन्दै सतर्कता अपनाइएको छ । सीमानाका झुलाघाटमा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिने सबै नागरिकको अनिवार्य रूपमा कोरोना परीक्षण गरिरहेको छ । झुलाघाट नाकाबाट फर्किने नागरिकको एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गरिन लागिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । बैतडीमा हाल कोरोनाका १७ जना सक्रिय संक्रमित रहेका छन् भने संक्रमणकै कारण यहाँ १९ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्