वागमतीमा गाडी, प्रदेश–२ मा कर

0
Shares

हेटौंडा, (नेस) ।

हेटौंडाका यातायात व्यवसायी हेटौंडा, प्रदेशको राजधानी हुँदा पनि मकवानपुरका यातायात व्यवसायीले मार खेप्नुपरेको र अर्बौं रुपियाँ कर अर्कै प्रदेशमा गएर बुझाउनुपरेको भन्दै गुनासो गरेका छन् ।

सार्वजनिक मकवानपुर यातायात प्रालि अध्यक्ष ज्ञानेन्द्र कार्कीले वागमती प्रदेशमा यातायात चलाएर प्रदेश–२ मा कहिलेसम्म कर तिर्न जाने भनेर प्रश्न गर्नुभएको छ । बुधबार हेटौंडामा भएको नेपाल अटो ई–रिक्सा व्यवसायी संघको साधारणसभामा उहाँहरूले भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री सन्तबहादुर चेपाङको उपस्थितिमा यातायात व्यवसायीमाथि विभेद भएको बताउनुभएको हो ।

नारायणी यातायात व्यवसायी संघ अध्यक्ष हीरालाल श्रेष्ठले प्रदेश सरकारका मुख्यमन्त्रीको उपस्थितिमा बसेको बैठकले तौलपुल बन्द गरेर यातायात व्यवसायीमाथि प्रहार भएको बताउनुभयो । उहाँले यातायात क्षेत्र सुधारका लागि बनेको समितिले बुझाएको प्रतिवेदन दराजमा थन्क्याएर यातायात क्षेत्रलाई अस्तव्यस्त पारिएको आरोप लगाउनुभयो ।

नारायणी यातायात व्यवसायी संघ महासचिव सरोजकुमार खनालले वागमती प्रदेश सरकारले यातायातमा महंगो कर लागु गर्दा सवारीधनीहरू प्रदेश–२ को वीरगञ्ज कर तिरिरहेको र वागमती प्रदेश सरकारलाई ३ अर्ब ५० करोड रुपियाँ राजस्व घाटा भएको दाबी गर्नुभयो ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका ठाकुरनाथ सुवेदीले ठूला यातायात संस्थाहरूमा पहुँच र पकड गुमाएको प्रतिशोध साँधेर बिगतको सरकारले यातायात क्षेत्र ध्वस्त पारेर सिन्डिकेट अन्त्यमा नाममा समस्या खडा गरेको बताउनुभयो ।

यातायात व्यवसायीको आक्रोश शान्त पार्दै भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री चेपाङले व्यवसायीका माग जायज भएको भन्दै व्यवसायीको माग पूरा गर्न विभागीय मन्त्री र मुख्यमन्त्रीसँग सहजीकरण गर्ने विश्वास दिलाउनुभयो ।